kabul-airport

अफगानिस्तान, २३ मङ्सिर । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थल परिसरमा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको बुधबार प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । घटनामा १८ जना अन्य नागरिक घाइते भएको जनाइएको छ ।सो इलाकामा मङ्गलबार रातभरी दोहोरो गोली हानाहान भएको अधिकारीहरुले जनाएका छन् । तर सैनिकतर्फ कति क्षति भयो भन्ने बारे थाहा नभएको बताइएको छ । कान्दाहार प्रान्तका सैनिक कमाण्डर दउद साह वफादारले यस आक्रमणमा ३७ व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

अकस्मात तालिवानी लडाकुले विमानस्थल परिसरमा धावा वोल्न थालेपछि यहाँको सेनाले जवाफी कारबाही चलाएको सुरक्षा स्रोतले जनाएको छ । बुधबार विहान भएको यस आक्रमणमा कैयौको सङ्ख्याका आतङ्ककारी मारिएको सरकारी दावी रहेको छ । आक्रमण भएको सो इलाका नेटो शिविरसँग जोडिएको बताइएको छ ।अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सम्मेलनमा भाग लिनको लागि पाकिस्तान पुग्नुभएकै दिन बुधबार यो आक्रमण भएकोे छ ।

 

तपाईको प्रतिक्रिया