slc-660x330काठमाडौं २४ मंसिर / यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो नेपालमार्फत पढाउने भएको छ । भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियोबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ । रेडियोबाट गणित, अंग्रेजी र विज्ञान पढाउने तयारी गरेकाे छ । लामो समय पढाइ अवरुद्ध भएका तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गौतमको भनाइ छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन् ।

केही समयपछि नेपाल टेलिभिजनबाट साढे पाँच बजेदेखि २५ मिनेट पढाउने तयारी छ । रेडियो र टेलिभिजनबाट प्रसारण भएका सामग्रीले खुला विद्यालयमा अध्ययन गर्ने देशभरबाट एसएलसी दिने विद्यार्थीलाई उपयोगी हुने मन्त्रालयको भनाइ छ । अघिल्ला वर्षमा चैतको पहिलो सातादेखि नै एलएलसी परीक्षा हुने गरेको थियो । तर, यसपालि केही समय ढिलो सुरु गर्ने र छिटो नतिजा निकाल्ने तयारी सरकारको रहेको अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया