- दिलिप कुमार साह

०४ फागुन, राजविराज। सप्तरीमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । एचआइभीको संक्रमण परीक्षण सुरु भएदेखि ६ पुरुष, ५ महिला र एक तेस्रोलिंगी गरी १२ जनाको मृत्यु भइसकेको छ । हालसम्म १ सय ९२ जना संक्रमित राष्ट्रिय एडस तथा यौन रोग नियन्त्र ण केन्द्रको सम्पर्कमा छन् भने १ सय २१ जनाले औषधि सेवन गरिरहेका छन् । जसमध्ये ४७ पुरुष, ६० महिला, ३ तेस्रोलिंगी र १२ जना बालाबालिका छन् । अस्पतालका रामकुमार दियालीका अनुसार ६ बालक र ६ बालिकाले नियमित औषधि खाईरहेका छन् ।

२ महिनादेखि ७० वर्षसम्मका संक्रमितहरु रहे पनि २४ देखि ४५ वर्षका अधिक रहेको केन्द्रले जनाएको छ । औषधि सेवन गरिरहेका मध्ये ६३ जना सप्तरीका रैथाने र बाँकी अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरु छन् । वैदेशिक रोजगारीका क्रममा पुरुषहरुमा रहेको संक्रमण महिला हुदै बालबच्चामा समेत पुग्ने गरेको केन्द्रकी को अर्डिनेटर सुनिता यादवले जानकारी दिनुभयो ।

आफूलाई लागेको रोग छरछिमेकले थाहा पाउने चिन्ता तथा केन्द्रसँग पर्याप्त साधन स्रोतको अभावका कारण संक्रमितहरु सिधै धरान तथा विराटनगर समेत जाने गरेको यादवले बताउनुभयो । एचआइभी संक्रमण भए र नभएको छुट्याउन रगत जाँच गर्ने मेसिन, निर्धक्क सेवा लिन सक्ने वातारण सहितको भवन तथा पर्याप्त औषधि उपचारको व्यवस्था मिलाउन सके लुकेर बसेका संक्रमितहरु समेत सम्पर्कमा आउन सक्ने उहाको भनाइ छ । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार हाल नेपालमा एचआइभी संक्रमितको संख्या ३९ हजार छ । तीमध्ये २६ हजार उपचारको क्रममा छन् । बाँकीको अवस्थाबारे भने सरकारलाई नै थाहा छैन ।

तपाईको प्रतिक्रिया