sansad

२५ मंसिर, काठमाडौं । प्रमखु विपक्षी दल नेपाली कांग्रेसले बिहीबारको संसद बैठक अवरुद्ध पारेको छ ।  लगातार संसद अवरुद्ध पार्दै आएको मधेसी मोर्चा पुनर्निर्माण विधेयक पास गर्न दिन सहमत भएको थियो । तर, कांग्रेसले अबरुद्ध पारेको छ ।

संसद बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण विधेयक सम्वन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेसको अवरोधका कारण लामो समयसम्म विधायन समितिमा रोकिएको विधेयक बुधबार मात्र पास भएको थियो । कांग्रेसको फरकमतसहित विधेयक पास भएको थियो ।

मधेसी मोर्चाले प्राधिकरणसम्वन्धी विधेयक मानवीय विषयसँग जोडिएको भन्दै बैठक अवरुद्ध गर्ने बताएको थियो । तर, उसले संविधान संशोधन विधेयक भने आफ्नो सहमति विना पास हुन नदिने बतायो ।

मधेसी मोर्चाको अडानपछि संसद सचिवालयले संविधान संशोधन विधेयकलाई कार्यसूचीबाट हटायो । संसदको बैठक सुरुहुना साथ कांग्रेस सांसदहरुले नियमापत्ति गर्दै बैठक चल्न दिएनन् ।

कांग्रेस सांसद रमेश लेखकले यसअघि कार्यसूचीमा रहेको संविधान संशोधन विधेयक किन हटाइयो, प्रष्ट जवाफ माग गरे । लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर विरोध जनाए ।

सभामुख ओनसरी घर्तीले अर्को बैठकमा त्यसलाई राखिने बताएपनि कांग्रेस सांसदहरुले मानेनन् । कांग्रेसको अवरोधका कारण पुनर्निर्माण विधेयक पेस गर्ने तयारी असफल भएको छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया