काठमाडौं,  १३ फागुन । कंलकी-नागढुंगा सडकको निर्माण लामो समयदेखि अबरुद्ध हुँदा यो क्षेत्रका बासिन्दाले दिनदिनै सास्ती भोग्नु परेको छ।  यस क्षेत्रका बासिन्दाले धुवाँधुलो र जामको मार त खेपेकै छन् दैनिक जीवन पनि अस्तव्यस्त भएको छ। धुवाँधुलोका कारण चौबीसै घण्टा धुलोको तुवाँलोले सडक ढाक्ने गरेको छ। धुवाँधुलोले केही मिटरका गाडी पनि देख्न हम्मे पर्छ। सडकमा बुङ्बुङ्ती धुलो उड्ने गरेकाले स्थानीयबासी बिरामी पनि हुन थालेका छन्।

पानी पर्दा हिलो, घाम लागे धुलो
फराकिलो बनाउन थालेको तीन वर्ष भइसक्दा पनि भत्काएर कालोपत्रे नगरिँदा सानो पानीले पनि सडक हिलाम्मे हुने गरेको छ। पानी पर्दाको हिलो र घाम लाग्दाको धुलोले यहाँका बासिन्दाले बिनाकारण रोगी बन्नु परेको छ।

चन्द्रगिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा किराना पसल सञ्जीव श्रेष्ठले धुलोधुवाँ र जामले साह्रै पीडित बनाएको बताउँछन्। सडकमै जोडिएको पसल रहेका श्रेष्ठ दिनमा १० पटक सफा गर्दा पनि धुलो हटाउन नसकिएको बताउँछन् ।

‘हेर्नु न कति फोहर छ पसलमा, दिनमा १० पटक सफा गर्दा पनि धुलो फाल्न सकिन्न्, साह्रै हैरान बनाएको छ’, धुलैधुलोले भरिएको पसल देखाउदै उनले भने, ‘जामले २ किलोमिटरको कंलकी पुग्न समेत घण्टौँ लाग्छ, कहिलेकाहीँ ४-५ घण्टा जाम हुन्छ, तीन वर्ष भयो, यस्तै सास्ती बेहोरिरहेका छौँ।’

बिरामी पर्न थाले स्थानीय
सडकमा पैदल हिँड्दा लुगाकपडा धुलै धुलो हुने गरेको दुखेसो उनले पोखे । ‘कहिले बन्छ यो सडक, कहिलेसम्म हामीले धुलोधुवाँ र जामको मारमा पर्नु पर्ने हो,’ उनले भने, काम नै गरेका छैनन्, बाटो बन्ने कुरा सपना जस्तो भएको छ ।’

नैकापका स्थानीय बासिन्दा सागर पाण्डे सडक अलपत्र हुँदा उड्ने धुवाँधुलोले मानव स्वास्थ्यमा समेत नराम्रो असर परिरहेको बताउँछन् । उनले धुलोधुवाँका कारण स्थानीय बासिन्दा रुघाखोकीदेखि फोक्सो र स्वासस्वासको बिरामी भइरहेको बताए ।

‘यो सडक निर्माणमा भएको ढिलाईले हाम्रो स्वास्थ्यमा नराम्रो असर परिरहेको छु, उनले भने, ुकंलकीदेखि थानकोटसम्म मानिसहरु रोगी भइसके, यसको क्षतिपूर्ति कस्ने दिने ?’

दिउँसै हुन्छ अध्याँरो

कलंकी चोकमा मासु पसल संचालन गरेका सम्शेर आलम धुलो धुवाँका कारण कहिले काँही त कलंकी दिउँसै अध्याँरो हुने गरेको बताउँछन् । ‘कहिलेकाँही त धुलो र धुवाँले पुरै छोप्छ, अध्यारो जस्तै हुन्छ’, उनले पीडा सुनाए । आलमले पानी हाल्ने नाउँमा सडकमा झन हिलो र धुलो बढाउने गरेको गुनासो गरे । कम्तिमा तीन पटक पानी हाल्न भनिए पनि कार्यान्वयन नै हुन नसकेको गुनासो गरे ।

सडक फराकिलो समृद्धि र विकास हुने आशमा सहेर बसेका स्थानीय सडक बन्ने सुरसार नदेखेपछि तनावमा छन्। देशभरबाट राजधानी काठमाडौं प्रवेश गर्ने सवारी साधान र यात्रुले घण्टौ जाम भोग्नु परेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले खबर लेखेका छन्।

तपाईको प्रतिक्रिया