काठमाडौं, १७ फागुन । वीरगन्जलाई प्रदेश राजधानी बनाउन जारी आन्दोलन लम्बिएको छ । संघर्ष समितिले विरोध सभा तथा होली मिलन समारोह आयोजना गरी चाडपर्वमा समेत आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ ।

५७ दिनदेखि जारी आन्दोलन थप प्रभावकारी र सशक्त पार्ने घोषणा गर्दै समितिले वीरगन्ज बन्दलगायत कार्यक्रम घोषणा गरेको हो। शान्तिपूर्ण आन्दोलन गर्दा सरोकारवाला जिम्मेवार निकायले चासो नदिएकाले आफूहरू कडा आन्दोलनमा जाने निष्कर्षमा पुगेको संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताले बताए। आन्दोलनको स्वरूप परिवर्तन भए पनि रिले अनशन भने जारी रहने उनले बताए। वीरगन्जलाई राजधानी नबनाएसम्म आन्दोलन नरोकिने उनले बताए।

संघर्ष समितिले फागुन २३, २४ र २५ गते बारा, पर्सा, रौतहटमा वीरगन्ज राजधानी बनाउन जागरण अभियान सञ्चालन गर्ने, २६ गते अन्तरक्रिया गर्ने, २७ गते मशाल जुलुस प्रदर्शन, २८ गते वीरगन्ज बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। संघर्ष समितिका संयोजक सुरेन्द्र चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले रिले अनशनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रम पारित गरेको थियो। आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया