काठमाडौं, २१ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह भिड्ने भएका छन् । आइतबार दिनभर सर्वसम्मतिको प्रयास भए पनि कुरा नमिलेपछि दुवैले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन समितिले तोकेको समयमा सभापति देउवाले वारेसनामामार्फत र सिंहले आफैँ उपस्थित भएर उम्मेदवारी दर्ता गराए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

छोराको व्रतबन्ध भएकाले देउवाले वारेसनामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । तोकिएको समयभन्दा एक घन्टाअगाडि उम्मेदवारी दर्ता गर्न तोकिएको स्थान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेका देउवा पक्षका केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाण र सांसद भरतकुमार शाहलाई वारेस दिएर बाहिरिएका थिए ।उनी आइतबार दिनभर छोरा जयवीरसिंह देउवाको व्रतबन्धमा व्यस्त थिए । देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार र समर्थकमा मानबहादुर विश्वकर्मा छन् ।

करिब साढे ६ बजेतिर प्रस्तावक गच्छदार, समर्थक विश्वकर्मा र वारेसनामा पाएका खाण र शाहसमेतको टोलीले निर्वाचनमा समितिमा उम्मेदवारी दर्ता गरायो ।नेता सिंहले आफ्ना पक्षका नेतासहित निर्वाचन कार्यालय सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए ।केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ संयोजक रहेको निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आइतबार साँझ ६ देखि साढे ७ बजेसम्मको समय तोकेको थियो ।

कार्यकर्ताको माग सम्बोधन गर्न अघि बढेँ : सिंह

देउवाको उम्मेदवारी दर्ता भएको केही समयपछि नेता सिंहले निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

सिंहले पौने ७ बजे मनोनयन दर्ता गराएको निर्वाचन समिति सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए । सिंहको प्रस्तावकमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थंकमा सञ्जय गौतम छन् ।

नेता रामचन्द्र पौडेल पक्षधर सिंहले पार्टी नेतृत्व असफल भएकाले कार्यकर्ताको मनोबल बढाउन साथै पार्टीलाई नयाँ जीवन दिन आफूले उम्मेदवारी दिएको बताए ।

‘कम्युनिस्टहरूको बाहुल्य रहेको संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न र नेतृत्व परिवर्तन गर्नुपर्ने कार्यकर्ताले उठाएको मागलाई सम्बोधन गर्न उम्मेदवारी दिएको छु,’ उम्मेदवारी दर्तापछि सिंहले सञ्चारकर्मीसँग भने, ‘पार्टीमा शुद्धीकरण गर्न र गिरेको पार्टीको साखलाई पुनः उचो बनाउने मेरो योजना सांसद साथीहरूले पूरा गर्ने अवसर दिनुहुनेछ भन्ने मेरो आशा छ ।’

महामन्त्री कोइराला अनुपस्थित

दलको नेताको उम्मेदवारी दर्ता कार्यक्रममा महामन्त्री डा. शशांक कोइराला अनुपस्थित रहे । नवलपुर–१ बाट निर्वाचित कोइराला नेता सिंहको प्रस्तावक हुने चर्चा थियो ।

तर, उनी उम्मेदवारी दर्ता प्रक्रियामा उपस्थित भएनन् । पार्टीले पराजय व्यहोरेको समयमा सर्वसम्मत नेता चयन गर्नुपर्ने बताउँदै आएका कोइराला निर्वाचन हुने भएपछि उम्मेदवारी दर्ताको समयमा नआउनुलाई उनको असन्तुष्टिका रूपमा नेताहरूले बुझेका छन् ।

यसरी हुँदै छ निर्वाचन

निर्वाचन समितिले आइतबार अपराह्न साढे ४ बजे मतदाता नामावली प्रकाशन गरेको थियो । मतदाता नामावलीउपर दाबी विरोध गर्ने समय ४ः३५ देखि ५ बजेसम्मे तोकिए पनि कसैको दाबी विरोध नपरेको निर्वाचन समितिले जनाएको छ ।

समितिले प्रकाशन गरेका ६३ मतदाताउपर कसैको दाबी विरोध नपरेपछि साढे ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिएको थियो ।

त्यस्तै, साँझ ६ देखि ७ः३० बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयमा सभापति देउवा र नेता सिंहको उम्मेदवारी परेको छ ।

उम्मेदवारको दरखास्तउपर दाबी विरोध गर्न तोकिएको ७ः४५ देखि ८ बजेसम्म कसैको दाबी विरोध नपरेको समिति संयोजक चिनकाजी श्रेष्ठले बताए ।

निर्वाचन समितिले उम्मेदवारले नाम फिर्ता लिने समय सोमबार बिहान सबा ८ बजेसम्म राखेको छ । सोमबार बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १० देखि दिउँसो १ बजेसम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले बताएको छ ।

यस्तो छ देउवाको विगत

सुशील कोइरालाको निधनपछि २४ चैत ०७२ मा भएको संसदीय दलको निर्वाचनमा देउवाले रामचन्द्र पौडेललाई ७२ मतान्तरले पराजित गरेका थिए ।

२०६ सांसदले मत हाल्दा देउवाले १३९ र पौडेलले ६७ मत ल्याएका थिए । देउवाले त्यतिखेर ६७.४७ प्रतिशत र पौडेलले ३२.५३ प्रतिशत मत पाएका थिए ।

यसअघि ०५२ मा देउवा सर्वसम्मत रूपमा संसदीय दलको नेता बनेका थिए । ०५६ मा देउवाले दलकै नेतामा सुशील कोइरालालाई हराएका थिए ।

पहिलो संविधानसभा निर्वाचनपछि ०६५ सालमा भने देउवा पौडेलस“ग दलको नेतामा पराजित भएका थिए ।

यसअघि तीनपटक संसदीय दलको नेता बन्दा तीनैपटक देउवा प्रधानमन्त्री बनेका छन् । यसपटक भएको संघीय संसद्को निर्वाचनमा भने कांग्रेसले सरकार बनाउने गरी नतिजा ल्याएन ।

दोस्रो संविधानसभा निर्वाचनपछि १२ माघ ०७० मा भएको संसदीय दलको चुनावमा देउवा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालास“ग १६ मतले पराजित भएका थिए । त्यतिखेर कोइरालाले १०५ र देउवाले ८९ मत प्राप्त गरेका थिए । १३औँ महाधिवेशनपछि कांग्रेसमा राम्रो मतका साथ स्थापित भएका सभापति देउवाले यसपटक थोरै जित्दा पनि संसदीय दलमा आफ्नो पक्षको हैसियत राम्रो कायम गरेका छन् ।

कागजी मतदानमा फर्कियो कांग्रेस
०७२ चैतमा भएको संसदीय दलको निर्वाचनमा कांग्रेसले संसदीय दलको नेता चयनका लागि विद्युतीय मेसिनबाट मतदान गरेको थियो ।

विद्युतीय मेसिनबाट मतदान गर्दा १० मिनेटमै नतिजा आएको थियो । तर, दुई वर्षपछि फेरि कांग्रेसले परम्परागत मतपत्रबाटै दल नेताका लागि निर्वाचन गर्ने भएको छ ।

सर्वसम्मतिको प्रयास असफल

सभापति देउवाले दलको उपनेता दिन सकिने भन्दै आफूलाई सर्वसम्मत उम्मेदवार बनाउन पौडेल पक्षसँग आग्रह गरे पनि उनीहरूले अस्वीकार गरेका हुन् । सहमति नभएपछि दुवै पक्षले उम्मेदवारी दर्ता गराएका हुन् ।

अंकगणितमा देउवा हाबी

संस्थापन : ३९
संस्थापन प्रत्यक्ष : ११ सांसद

देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, प्रदीप गिरि सिरहा १, मोहन आचार्य रसुवा, अमरेशकुमार सिंह सर्लाही ४, भरत शाह रूपन्देही ५, देवेन्द्रराज कँडेल नवलपरासी २, प्रमोदकुमार यादव रुपन्देही ४ र अभिषेकप्रताप शाह कपिलवस्तु ३ विजयी भएका छन् ।

संस्थापन समानुपातिक २८

बालकृष्ण खाण, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, बहादुरसिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, पद्मनारायण चौधरी, अतहर कमाल मुसलमान, रामबहादुर विष्ट, पुष्पा भुसाल गौतम, डिला संग्रौला, उमा रेग्मी, रंगमति शाही, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुजाता परियार, लक्ष्मी परियार, चित्रलेखा यादव, मिनाक्षी झा, पार्वती डिसी चौधरी, सर्वत आरा खान

पौडेल पक्ष : २०
प्रत्यक्ष : ९

प्रकाशमान सिंह काठमाडौं १, डा. शशांक कोइराला नवलपुर १, डा. मीनेन्द्र रिजाल मोरङ २, डा. नारायण खड्का उदयपुर १, राजन केसी काठमाडौं १०, अफताव आलम रौतहट २, देवीप्रसाद तिमल्सिना रौतहट ४, तेजुलाल चौधरी सप्तरी ४, सञ्जय गौतम बर्दिया १ छन् ।

पौडेल पक्ष समानुपातिक ११

सुजाता कोइराला, मीना पाण्डे, प्रमिला राई, विमला नेपाली, सीतादेवी यादव, दिलेन्द्रप्रसाद बडू, कर्मा घले, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, प्रकाश स्नेही रसाइली, नमिताकुमारी चौधरी ।

सिटौला पक्ष : तीनजना

उमाकान्त चौधरी बारा १, गगनकुमार थापा काठमाडौं ४ र भीमसेनदास प्रधान काठमाडौं ६ छन् ।
उद्योगी विनोद चौधरी कतै पनि खुलेका छैनन् ।

तपाईको प्रतिक्रिया