- अमर काफ्ले


२२ फागुन, इनरुवा। गुणस्तरीय सेवा सुविधा र कार्य सम्पादनको विषयले पटक पटक विवादमा घेरिने गरेको इनरुवा अस्पताल पूनः आन्तरिक व्यवस्थापनको खिचलोको विषयमा मुछिएको छ । ५० शैयामा रुपान्तरणको पकृयामा अघि बढेको इनरुवा अस्पताल यतिवेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कर्मचारीहरुको असन्तुष्टिसँगै विवादमा तानिएको छ ।

सेवा सुविधा अपुग रहेको कारण जनाउँदै सुधारकालागि स्वास्थ्यकर्मी सहित कर्मचारीहरुले अस्पताल प्रशासनलाई एक हप्ते अल्टिमेटम दिएसँगै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र अस्पताल प्रशासनबिच टकरावको अवस्था सीर्जना हुन पुगेको छ । विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुले स्रोत साधनको पर्याप्ता, औधषीको उचित व्यवस्थापन सहित विगतका वर्षहरुदेखि राख्दै आएको आफुहरुको सेवा सुविधा लगायतका माग सम्बोधन नभए काम छाड्न बाध्य हुने आशय सहितको चेतावनी दिएका छन् । डा. बिशालचन्द्र सुवेदी नेतृत्वको स्वास्थ्यकर्मी सहितको टोलीले आफुहरुको माग अस्पताल प्रशासनले वेवास्ता गर्दै आएको बताएको छ ।

उता अस्पताल प्रशासनले भने आन्तरिक रुपमा सहमति गरी अघि बढ्न सकिने विषयलाई अतिरञ्जित गर्न खोजिएको जनाएको छ ।
इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवालले स्रोत साधन लगायत सेवा सुविधा अभावको सन्दर्भमा प्राप्त हुनुपर्ने सरकारी सेवा सुविधा र अनुदानको अपर्याप्ततालाई कारण देखाएका छन् । तलव सेवा सुविधा लगायतका विषयमा प्रशासनले यथोचित व्यवस्थापन गर्दै आएको बताउने कटवालले स्रोत साधन अभावका कारण कतिपय सेवा सुविधाका बारेमा यथोचित बन्दोवस्ती मिलाउन कठिनाई भएको स्विकारे ।

कटवालले अस्पतालभित्र देखा परेका कमी कमजोरीलाई सहमतिका आधारमा क्रमिक रुपमा सुधारको पाटोमा अघि बढाइएको बताए ।
पछिल्लो पटक बाहिर आएको विषयलाई अस्पताल व्यवस्थापन समितिले भने हतारको राजनीतिको सज्ञा दिएको छ । सरोकारवालाहरु बसेर आन्तरिक रुपमा छलफल नगरिकन अस्पतालको विषय बाहिर ल्याएर सर्वसाधारणमा नकारात्मक भ्रम पैदा गर्ने कार्य भएको प्रति प्रशासनले खेद व्यक्त गरेको छ । आरोप र प्रत्यारोपको अवस्था सीर्जना हुन थालेपछि व्यवस्थापन समितले भेला डाकी वास्तविकता सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ । आन्तरिक समस्या भए उचित व्यवस्थापन गरी अघि बढ्ने गरी बैठकमा छलफल गरिने बताइएको छ । अस्पताल स्रोतका अनुसार ड्युटी समयको पुरा अवधी समय नदिने स्वास्थ्यकर्मी सहित कर्मचारी समेतलाई सचेत गराउँदै दुवै पक्षलाई आआफ्नो जिम्मेबारी बहन गराउने तर्फको पहलकदमीको प्रयास भैरहेको छ ।

तपाईको प्रतिक्रिया