- अमर काफ्ले

इनरुवा। पूर्वको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले एकै दिन तीन जिल्लाका विभिन्न धार्मिक तिर्थस्थल पुगी पुजाआजा गरेका छन् । विहान झापाबाट मन्दिर दर्शनकालागि निस्केका ज्ञानेन्द्र शाह मोरङका विभिन्न स्थानमा रहेका मन्दिरहरुमा पुजाआजा गर्दै सुनसरीको रामधुनी मन्दिर पुग्नु भएको थियो ।

झापा हुँदै मोरङको बेलबारी, उर्लाबारी हुँदै सुनसरी प्रवेश गरेका साह इटहरी, झुम्कामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुँदै मठ मन्दिर पुगेर पुजाआजामा सरिक हुनु भएको थियो ।रामधुनी नगरपालिकाको सडक किनारमा उभिएका समर्थकहरुको स्वागत ग्रहण गर्दै पूर्वराजा ज्ञानेन्द्र सुनसरीको रामधुनी मन्दिर पुग्नु भएको थियो ।

एतिहासिक महत्वको रामधुनी मन्दिर प्राचिन कालमा श्रीरामले धुनी बालेर बास बसेको क्षेत्रका रुपमा लिइन्छ । अपरान्ह धुनी पुगेका ज्ञानेन्द्रले राम मन्दिरमा पुगेर पुजा तथा टिका प्रसाद ग्रहण गर्नु भएको थियो ।

पूर्व राजा आउने भएकाले स्वागतकालागि उनका समर्थक तथा शुभेच्छुकहरुले बाजा गाजा सहित स्वागत गर्दै जयजयकार गरेका थिए । ज्ञानेन्द्र प्रति नतमस्तक शुभेच्छुक तथा समर्थकहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ र श्री ५ महाराजधिराज सरकार जस्ता नारा लगाएका थिए ।

ज्ञानेन्द्र सामू बाबा बनखण्डी मन्दिर गुठी संस्थानले मन्दिर पूर्वाधार अवस्था र निर्माण आवश्यकता सहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।ज्ञानेन्द्र शाहले प्रकाशपुर, महेन्द्रनगर र इनरुवा क्षेत्रमा शुभेच्छुकहरुलाई पैदल भेटर सम्मान ग्रहण गर्नु भएको थियो । दिनभरजसो विभिन्न कार्यक्रममा सहभागी भएका पूर्व राजा शाहले कुनैपनि प्रतिकृया भने जनाउनु भएन् ।

पूर्वराजालाई शाहलाई बृहत राजावादी मोर्चाको पहलमा सुनसरीको धार्मिक तिर्थस्थल दर्शनकालागि ल्याइयो मोर्चाका संयोजक सिनेट श्रेष्ठले बताए । धार्मिक पर्यटन प्रवद्धन सहितको उद्येश्य अनुरुप पूर्वराजाको भ्रमण तालिका मिलाइएको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया