कञ्चनपुर,२ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका ५ वनगाउँकी २३ वर्षीया युवती सुनीता चन्दको शरीरमा तातो घिउ खन्याउनेमाथि बिहीबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

आफूसँग विवाह नगरेको भन्दै सुनीताको घरमै गई कुटपिट तथा तातो घिउ खन्याउने भीमदत्त नगरपालिका ११ गड्डाचौकीका राकेश चन्द र उनलाई सघाउने सोही नगरपालिका १० का २८ वर्षीय रामेशदत्त भट्टका नाममा जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो।

युवतीका भाइ समीर चन्दले बिहीबार राकेश र उनलाई सीमावर्ती बजारसम्म पुर्‍याउन सहयोग गर्ने भट्टका नाममा किटानी जाहेरी दिएपछि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार रमेशलाई घटनालगत्तै गड्डाचौकी क्षेत्रबाट पक्राउ गरी अनुसन्धान सुरु भएको छ।

बुधबार आफूसँग विवाह नगरेको भन्दै राकेशले सुनीतालाई कुटपिटसँगै शरीरमा तातो घिउ खन्याएका हुन्। औंलाले सुनीताका दुवै आँखामा घोचेर भित्री भागमा समेत चोट लागेको छ। कैलालीको गेटा आँखा अस्पतालमा बिहीबार दोस्रो दिन पनि सुन्निएको नघटेका कारण उपचार हुन नसकेको सुनीताका ठूलोबुवा जनकबहादुर चन्दले बताए।

‘आँखा सुन्निएको अझै घटेको छैन, डाक्टरले घटेपछि मात्रै उपचार गर्न सकिने भनेका छन्,’ उनले भने, ‘आँखाको भित्री भागमा घाउ र बाहिरको झिल्ली च्यातिएको भनेको छ।’ उनले शुक्रबार फेरि बोलाएको जानकारी दिए। सुन्निएको घटेपछि मात्रै शल्यक्रिया गर्न सकिने भएकाले अस्पतालमा भर्ना नगरिएको उनले बताए।

आँखाको उपचार हुन नसकेर फिर्ता ल्याइएको सुनीतालाई यहाँको महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ। तातो घिउले शरीरका विभिन्न ठाउँमा जलेका कारण अस्पतालमा भर्ना गरी उपचार भइरहेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिल्लीराज विष्टले मुख्य दोषी राकेशको खोजी कार्य चलिरहेको बताए। मुद्दा दर्तासँगै पक्राउ परेका भट्टलाई हिरासतमा राख्न म्याद थप गरी अनुसन्धान कार्य चलिरहेको जानकारी दिए। कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया