Jack-Dorsey tweeter

टि्वटरले आफ्नो फिडमा नयाँ प्रयोग सुरु गरेको छ । जस अन्तरगतले उसले केही त्यस्ता टि्वट्स पनि देखाउन थालेको छ जुन समयक्रमको आधारमा नयाँ होइनन् । केवल समयको आधारमा नभै सबैभन्दा सान्दर्भिक तथा भाइरल टि्वट्सहरु देखाउनका लागि टि्वटर उपयोगी हुन्छ की हुँदैन भन्ने कुराको परीक्षणको रुपमा टि्वटरले नयाँ प्रयोग सुरु गरेको हो ।

तर टि्वटरका हार्डकोर प्रयोगकर्ताले भने टि्वटरको यो प्रयोग रुचाएका छैनन् । तर टि्वटरमा परिवर्तन भने आवश्यक भैसकेको छ । किनकी यसलाई फेसबुक, स्नापच्याट तथा इन्स्टाग्राम जस्ता प्रतिस्पर्धी सोसल साइटहरुले पछाडि पारिसकेका छन् ।

टि्वटर यसरी पछाडि पर्नुको एउटा कारण भनेको यसका पूराना टि्वटहरु हेर्न अलिक गाह्रो छ । अर्थात् पूरानो देखि नयाँ सम्म उल्टो क्रममा टि्वट्सहरु हेर्नका लागि सजिलो छैन । त्यसैले कहिलेकाहीँ टि्वटर भद्रगोल बेतुकको कहिल्यै नटुंगिने श्रृंखला जस्तो लाग्छ ।

तरपनि सबैभन्दा नयाँ कुराहरु हेर्नका लागि टि्वटर अझैपनि सबैभन्दा उत्तम प्लेटर्फम हो, खासगरी ३ मिनेट अघिसम्मका । तर अरु कुरामा भने अब्बल छैन ।

कठिनाइमा परेको टि्वटरमा अहिले ज्याक डोर्सी सिइओको रुपमा पुनरागमन गरेका छन् । र उनले टि्वटरमा राम्रो परिवर्तन गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न सुरु गरिसकेका छन् । सिइओ डोर्सीले टि्वटरमा तत्कालै गर्नुपर्ने ८ सुधार यस्ता छन्:

Twitter-new-timeline

टि्वट्स इडिट गर्न सकिने सुविधा

टि्वटेहरुले गरेका केही टि्वट भाइरल हुन्छन् । यसरी आफ्ना टि्वट भाइरल भएसँगै हौसिएर टि्वटेहरु त्यो टि्वटलाई अझै दमदार बनाउन चाहनु स्वभाविक हो । धेरैले मन पराएको टि्वटलाई अझै दमदार बनाएर त्यसमा केही कुराहरु तथा लिंकहरु थप्ने अर्थात् इडिट गर्ने चाहना पलाउने भएपनि त्यो सुविधा उपलब्ध छैन । फेसबुक तथा इन्स्टाग्राममा भने आफ्ना पोष्टहरु इडिट गर्ने सुविधा छ । अब टि्वटरले पनि टि्वट्सहरु इडिट गर्न सकिने फिचर थप्नुपर्छ ।

हटलिंक्स

टि्वटर १४० क्यारेक्टर्समा सिमित छ । ती क्यारेक्टर मध्ये केहीलाई एचटीएमएल कोडमा अरु कुनै लिंकलाई हाइपर लिंकको रुपमा प्रस्तुत गर्न भने यसले छुट दिँदैन । जबकी फेसबुकमा भने टेक्स्ट वा बाह्य वेबपेजको यस्तो हटलिंकिंग गर्ने सुविधा प्राप्त छ । टि्वटरले पनि यो सुरु गर्नैपर्छ ।

खोजेको व्यक्तिको नाम जाँच्ने

अहिले कसैलाई टि्वट गर्न चाहँदा उसको नाम @ मा टाइप गर्नुपर्छ । यसो गर्दा सजिलै गल्ती हुनसक्छ । टि्वटर सर्चमार्फत खोजेको व्यक्ति भेट्टाउन त सजिलो छ तर त्यो नामको व्यक्ति आफुले खोजेको खास व्यक्ति हो की होइन भन्ने कुरा खुट्याउन भने अलिक मेहेनत नै गर्नुपर्छ वा सबै कुरा आफै टाइप नै गर्नुपर्छ । त्यसैले टि्वटमा कसैको नाम थप्ने कार्य सजिलो बनाइनुपर्दछ । जबकी फेसबुकमा यो निकै सजिलो छ ।

फोटोलाई राम्रोसँग देखाओस्

टि्वटरले कुनै बेला इन्स्टाग्राम खरीद गर्ने असफल प्रयास गरेको थियो । यसबाट पनि थाहा हुन्छ सोसल मिडियामा तस्वीरलाई राम्रोसँग देखाउने कुरा कति महत्वपूर्ण हुन्छ । वास्तवमा टि्वटरमा फोटोहरु राम्रोसँग डिस्प्ले हुँदैनन् । यसलाई सुधार गर्नुपर्छ । टि्वटरले यो कुराको सुरुवात गरिसकेको पनि छ ।

सान्दर्भिक तथा चर्चित टि्वट देखाउने समानात्तर न्यूज फिड

पूराना टि्वटहरु खोज्ने काम टि्वटरमा अलिक गाह्रो हुन्छ । टि्वट गरिएकै समयमा टि्वटहरु हेर्नुभएन भने त्यसलाई तपाइँले देख्न नपाउने सम्भावना हुन्छ । त्यसैले टि्वटरले प्रयोगकर्तालाई यस्तो सुविधा उपलब्ध गराउनुपर्छ जसबाट प्रयोगकर्ताले आफ्नो टि्वटर कस्टोमाइज गरी विगतका भाइरल टि्वटहरु पुनः छानेर हेर्न पाओस् ।

टि्वटर एनालिटिक्स

धेरै टि्वटर प्रयोगकर्तालाई टि्वटर एनालिटिक्स फिचर भएको कुरा पनि पत्तो नहुन सक्छ । आफ्नो टि्वट्सका बारेमा विभिन्न खाले जानकारी थाहा पाउन निकै रमाइलो हुन्छ । एपमा यो सुविधा उपलब्ध गराउ । हरेक टि्वटको फरक फरक तथ्यांकको साथै समग्र टि्वटको तुलनात्मक तथ्यांक देखाउने फिचर पनि थपियोस् ।

चार्टबिट

चार्टविट यस्तो एप हो जसले निरन्तर रुपमा वेबमा रहेका सामाग्रीहरुको लोकपि्रयतालाई एनिमेसनको सहयोगबाट देखाइदिन्छ । खासगरी समाचार साइटहरुले आफ्ना साइटका समाचारहरुको लोकपि्रयता वा अलोकपि्रयताको बारेमा थाहा पाउनका लागि यसको प्रयोग गर्दछन् । टि्वटरमा पनि यो फिचर थपियोस् । केवल ट्रेन्डिंग ह्यासट्याग मात्र देखाएर भएन । सबै विषयको लोकपि्रयतालाई देखाउने गरी नयाँ चार्टबिट फिचर थप गर्नु आवश्यक छ ।

लामो टि्वट सुविधा

टि्वटर सिमायुक्त सोसल मिडिया हो र १४० क्यारेक्टरमा टि्वट सिध्याउनुपर्छ । मानिसहरु बढि लम्बेतान कुरामा नजाउन् र खास कुराको चुरोमा प्रवेश गरुन् भन्ने चाहना होला उसको । तर अब भने यसमा केही पुनर्विचार गर्नुपर्ने भएको छ । लामो कुरा टि्वट गर्न चाहनेका लागि त्यो सुविधा थप गरिनुपर्छ । इन्स्टाग्राममा यो सुविधा थप भैसकेको छ ।

 

तपाईको प्रतिक्रिया