काठमाडौँ, ५ चैत । मानव तस्करको सञ्जालबाट अमेरिका भनेर हिँडेका ६ जना नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका छन्।अलपत्र पर्नेमा बाग्लुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीस पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा रहेका छन्। गैर आवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झण्डै ६ महिनादेखि टोगोमा अलपत्र रहेका पीडितहरुले हालै आफ्नो उद्धारका लागि आग्रह गरेका हुन्।

पीडितमध्ये बाग्लुङ-६ घर भएका महेश्वरका बुवा रुद्रनारायण शर्माले दिएको जानकारीमा उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा हिँडेका हुन्। ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिँडेको हो, उसको यात्राका लागि दलाललाई २५ लाख रुपैयाँ बुझाएको थिएँ,’ रुद्रनारायणले फोनमा भने, ‘घरबाट निस्केपछि २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड, ४ महिना नाइजेरिया राखिएको रहेछ।

बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीमा एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु।’ उनले आफ्नो छोरासहित सबै अलपत्र परेकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी भइरहेको बताए।

अलपत्र पर्नेमध्ये सिन्धुपाल्चोक, बाह्रबिसेका सोनाम छिरी शेर्पाकी श्रीमती केसाङका अनुसार उनका श्रीमान् सोनाम ७ महिनाअघि अमेरिका जान भनी घरबाट निस्किएका हुन्। ‘दलाललाई ३५ लाख रुपैयाँ बुझाएको भन्ने मलाई थाहा छ,’ उनले भनिन्, ‘दलालको बोलीमा भर परेर विदेश नजानु भनेकै हुँ, अहिले अलपत्र परेका रहेछन् भन्ने सुनेकी छु।’ अलपत्र नेपालीका साथमा राहदानी र अरु कागजात समेत नरहेकाले तथा घरफिर्ती टिकटका लागि खर्च समेत नरहेकाले टोगोस्थित गैरआवासीय नेपालीको समन्वय जुटाएर पीडितले घर फिर्न चाहेका छन्।

पीडितका अनुसार उनीहरुलाई पोखरा बस्ने जिसन श्रीस (राजु), थाइल्यान्ड बस्ने गोविन्दराज भारती र काठमाडौं बस्ने पर्सा घर भएका मोहन श्रेष्ठ (सुरैन)ले अमेरिका लैजाने भनेर अलपत्र पारेका हुन्। ‘पीडितलाई घर फर्काउन गैरआवासीय नेपाली संघको काठमाडौं मुख्यालयले कानुनी परामर्शदाता उपलब्ध गराउँदै आवश्यक सहयोग उपलब्ध गराउने भएको छ,’ कोषाध्यक्ष थापाले भने। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया