काठमाडौं, ५ चैत । शनिबार प्रधानमन्त्री ओलीले पनि स्वैच्छिक अवकाशको सुविधा कर्मचारीहरूलाई नदिने बताएका छन् ।उनले अनुभवीलाई घर पठाएर नयाँ कर्मचारी भर्ना गर्न नसकिने स्पष्ट पारे । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले कर्मचारी सरकारले खटाएको देशको जुनकुनै ठाउँमा जानैपर्ने बताए ।

‘कर्मचारीलाई अवकाशमा होइन, काममा पठाउने हो, सरकारले खटाएको ठाउँमा जान्नँ, अवकाशमा जान्छु भन्न पाइँदैन,’ उनले भने ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि स्वैच्छिक अवकाश ठीक समयमा नआएको बताएका छन् । नयाँ पत्रिकासँग उनले भने, ‘स्वैच्छिक अवकाशबारे केही दिनमा धारणा सार्वजनिक गर्नेछौँ, काम गर्ने मान्छेलाई स्वैच्छिक अवकाश हुँदैन ।’

उनले काम गर्न तयार हुने कर्मचारीलाई काम दिन सरकार तयार रहेको र काम गर्दिनँ भन्ने कर्मचारीलाई स्वैच्छिक राजीनामा दिएर जाने अवसर रहेको प्रतिक्रिया दिएका छन् । उनले स्वैच्छिक अवकाशका विषयमा अध्ययन र छलफलपछि कदम चाल्ने बताएका छन् ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया