- दिलिप कुमार साह


५ चैत्र, राजविराज । सप्तरी जिल्लामा गत बर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा बृद्धि हुने भएको छ । गत वर्र्ष प्रति हेक्टर ०.५ मेट्रिक टन बढी गहु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका बरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले भन्नुभयो– सप्तरीमा गत वर्षको तुलनामा यस वर्ष प्रति हेक्टर २.४ मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान रहेको छ ।

कुल ३० हजार हेक्टर गहुँ खेती योग्य जग्गा (उत्पानशील) मध्ये २८ हजार हेक्टर जग्गामा गहुँबाली लगाएको यादवले जानकारी दिनुभयो । सप्तरीमा २.४ मेट्रिक टनका दरले यस वर्ष ६७ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरेको छ । बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी दिनेशप्रसाद यादवले गत आर्थिक वर्ष ०७३÷०७४ मा २५ हजार हेक्टर जग्गामा गहुँबाली लगाएको भन्दै यस वर्ष १.९ प्रति हेक्टर गहुँ उत्पादन भएको जानकारी दिनुभयो । त्यसअघि आर्थिक वर्ष ०७२÷०७३ मा १.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७१÷०७२ मा २.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको सो कार्यालयले जनाएको छ ।

खोलाको बाढीसँगै आएको पाङ्गो लेदो (स्थानीयमा पाक)ले बालीलाई रसायनिक मल भन्दा दोब्बर क्षमतामा काम गर्नुको साथै बाढी प्रभावित क्षेत्रमा उन्नत जातको बिउ वितरण गरिएको कारण गहुँ उत्पादनमा बृद्धि हुने बरिष्ठ कृषि विकास अधिकृत यादवले अनुमान गर्नुभयो । शीतलहर भएको वर्षमा अन्य बालीको तुलनामा गहुँबाली बढी उत्पादन हुने गरेको उहाँका अनुभव रहेको छ । सप्तरीको कुल ७० हजार हेक्टर धान खेती योग्य जग्गामा गँहु खेतीका लागि योग्य रहेको जिल्ला कृषि कार्यालयको ठहर छ । ती मध्ये केही हेक्टरमा तरकारी, तेलहन, दलहन खेती, धेरैमा गहँु खेती गरिन्छ भने केही बाँझै रहने गरेको छ ।

तपाईको प्रतिक्रिया