- दिलिप कुमार साह


१० चैत्र, राजविराज । प्रदेश नं. २ मा अझै पनि सबभन्दा बढी सामन्ती शासन कायम रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा राष्टिूय सभा सदस्य सुमनराज प्याकुरेलले बताउनु भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान कार्यालयको शनिबार उद्घाटन गर्दै प्रदेश २ मा सामप्रदायिक, जातीय, वर्गीय शासन कायम रहेको भन्दै उहाँले यसबाट अन्य जातजाती उत्पीडनमा परेको बताउनुभयो । यस्तो सामन्त शासनबाट मुक्त गराउन पुष्पलालको बिचार सहित कम्युनिष्टहरु एकढिक्का हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, दुई कम्युनिष्टहरु (एमाले र माओवादी) भावनात्मक र व्यवहारमा एक भएका छौ, चाडै नै एउटै पार्टी हुदैछौ ।

पुष्पलालको विचारलाई चिर स्थायी राख्नका लागि सम्पूर्ण कम्युनिष्टहरु मिलेर एउटा मात्र पार्टी बनाउनु पर्नेमा जोड दिदै प्याकुरेलले हाम्रो विभाजनले प्रतिक्रियावादी शक्तिहरुले धेरै नै फाइदा उठाएको बताउनुभयो । प्रतिष्ठानका सप्तरी अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा उहाँले भन्नुभयो, कम्युनिष्टहरु एक हुदैछन, अब प्रतिक्रियाबादी शक्तिले फाइदा लिन पाइदैन । संवैधानिक सर्वोच्चता, कानूनी राज्य, र विधिको शासन नै कम्युनिष्ट पार्टीको मूल सिद्धान्त रहेको भन्दै केन्द्रिय सदस्य प्याकुरेलले स्थानीय तह, प्रदेश, प्रतिनिधि तथा राष्टिूय सभा सहित प्रत्येक स्थानमा एमालेको प्रतिनिधि रहेको हुँदा नमूना काम गरेर देखाउनु पर्नेमा जोड दिनुभयो । एमालेको बहुमतको सरकारले जनभावना अनुसार नमूना काम गर्न नसकि असफल भएमा आउँदो निर्वाचनमा अनुहार देखाएर मत माग्ने अधिकार नरहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया