इनरुवा चैत्र २५/शान्तिदीप नेपाल इनरुवा सुनसरीको छैठौं वार्षिक उत्सवमा सहभागि भएका प्रदेश एकका सभामुख प्रदीप भण्डारीले प्रदेश नम्वर एक मुलुककै नमूना प्रदेश बन्ने दावी गरेका छन् । कार्यक्रममा सम्बोधनका क्रममा सभामुख भण्डारीले प्रदेश सरकार क्रमशः नीति नियम तथा योजनासँगै बजेट निर्माणको चरणमा अघि बढेकाले प्रदेशबासीले प्रदेशको समृद्धिको अनुभूति छिटैनै गर्न पाउने बताए ।

 

कार्यक्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाको समेत उपस्थिती रहेको थियो । कोइरालाले आफ्नो पार्टी प्रतिपक्षीको भूमिकामा रहेपनि प्रदेश समृद्धिका लागि प्रदेश सरकारले चाल्ने राम्रा कामको सदैव समर्थनमा रहने बताए । स्थानीय युवाहरुले स्थापना गरेको शान्तिदीप संस्थाले छैठौं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक तथा सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

 

कार्यक्रममा संस्थाले निःसहाय बालबालिका केन्द्र इटहरीकी संचालिका गीता गौतमलाई नगद २० हजार सहित सन्तोष निरौलाद्धारा ३० थान जुत्ता सहयोग समेत उपलब्ध गराइएको संस्थाका सचिव चक्र चौलागाईले बताए । कार्यक्रम संस्थाका अध्यक्ष सुभाष राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया