काठमाडौं, २७ चैत । कमाई हुने भएपछि तल्लो तहको व्यहोरा देखाउन कसैले पनि छाड्दैनन् भन्ने उदाहरण खानेपानी विभागका एक भ्रष्ट हाकिमले देखाएका छन् । उनी विभाग र माथाहतका सवै कार्यालयका लागि भाइरस बनेका छन् ।

महानिर्देशक तेजराज भट्टले आयोजनाका रकम गत चुनावमा जथाभावी खर्च गरेका कारण विभाग डुब्ने अवस्थामा पुगेको छ । अर्थ मन्त्रालयसँग गतिलो समन्वय नभएका कारण आयोजनाका रकम निकासा हुन सकेको छैन भने ७५ जिल्लामा कार्यालयका काम पनि प्रभावित भएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्रालयको जिम्मा नेकपा माओवादी केन्द्रकी बिना मगरले पाएकी छन् । पहिलो पटक मन्त्री नियुक्त भएपछि मेलम्ची आयोजनालाई तिब्रता दिन थालेकी मगरलाई समेत विभागका बारेमा प्रष्ट जानकारी हुन सकेको छैन ।

भट्टले मन्त्री मगरलाई पनि गुमराह राख्ने कोशिश गरेका छन् । नेपाली कांग्रेसका लागि आयोजनाका रकमबाट चुनाव खर्च दिएर पद जोगाउँदै बसेका भट्टले तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई रिझाउन डडेल्धुरामा १७ करोड खर्च गरेका थिए । ‘चुनावका समयमा राजनीतिक लविङका लागि उक्त रकम खर्च गरे’, स्रोतले भन्यो ।

पद जोगाउनका लागि तत्कालिन विभागीय मन्त्री महेन्द्र यादवको चुनाव क्षेत्र धनुषामा पनि आयोजनाको १० करोड रकम हिनामिना गरी भट्टले निकासा गरेको खुलेको छ । विभिन्न जिल्ला कार्यालयका प्रमुखहरू र इन्जिनियरहरूसँग रकम माग गरि माथि बुझाउनुपर्ने भन्दै आर्थिक अपचलनमा पनि भट्टको सक्रियता रहेको स्रोतहरूको दाबी छ ।

कर्मचारीले पाउनुपर्ने भत्ताको रकम खर्च गरेर हेलिकोप्टर रिजर्भ गरी यादवलाई धनुषासम्म पुराएका थिए । ‘जिल्लाका निकास अहिलेसम्म हुन सकेका छैनन् । बरू, जिल्लाका हाकिमहरूसँग उल्टै रकम माग्ने काममा भट्टको सक्रियता रहेको छ’, स्रोतले भन्यो,‘भ्रष्टाचारको त सीमा नै छैन । विभिन्न दातृ निकायले सहयोग गरेका आयोजना, नेपाल सरकारले ठेक्का लगाउने काममा पनि कमिशनबिना काम गर्दैनन् ।’ उनले नजिकका ठेकेदारलाई काम दिएवापतको ठुलो रकम कमिशन माग गर्दै आएका छन् ।

पछिल्लो पटक विभागमा आफूलाई टिकाई राख्नका लागि विभागीय मन्त्रीका पार्टीका विभिन्न तहका नेतालाई हारगुहार गरिरहेका भट्ट यसअघि मेलम्ची परियोजनाका निर्देशक रहँदा काम अघि बढेको थिएन । उनको कार्यकालमा काम राम्रो नभएपछि मन्त्रालय तानिएका भट्टले कांग्रेसको बलमा विभागीय प्रमूखको जिम्मेबारी लिएका थिए ।

‘अहिलेसम्म अर्थ मन्त्रालयले दिने निकासा पनि उनकै कारणले रोकिएको छ । कार्यालयमा रकम निकासका नहुँदा कर्मचारीहरू समेत समस्यामा परेका छन् ।’, स्रोतले भन्यो ।

तल्लो तहमा हुने परियोजनाका लागि उपभोक्तालाई आश्वासन दिए पनि उनले थाल्ने भनेका खानेपानीका कुनै काम अघि बढ्न सकेका छैनन् । देउवाको कार्यकालमा आरजु राणासँगको पहुँचका आधारमा टिकेका भट्टले कैलालीमा चुनाव खर्चका लागि ठूलो रकम पुराएका थिए ।

कांग्रेस निकटका कर्मचारी भट्ट यसअगाडि मेलम्ची खानेपानी आयोजना (पिआइडी)मा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारमा १३ भराइएको थियो । तर, उनले तत्कालिन अख्तियार प्रमुख दिप बस्न्यातलाई पनि प्रभाव राख्न सफल भए ।

प्रेमबहादुर सिंह खानेपानीमन्त्री हुनुपूर्व उनी विभागमा आएका थिए । सो बेला सुदूरपश्चिमका माओवादी नेताको बलमा विभागमा आएका उनी हाल पनि माओवादी केन्द्रलाई रिझाउने प्रयासमा रहेका छन् ।जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया