विराटनगर। विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याएको छ । पक्राउ परेका पूर्व डिआइजी निरौलालाई बुद्ध एयरलाइन्समार्फत सोमबार दिउँसो २ः३० बजे विराटनगर ल्याएको हो ।

निरौलालाई जिल्ला प्रहरी कार्यालय मोरङको बा. १ झ १२९१ नम्बरको प्रहरीको भेनमा राखि प्रहरी कार्यालयतर्फ लगेको थियो । निरौलालाई लिन विराटनगर विमान स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डियसपी निशान्त थापा पुगेका थिए । निरौलालाई जिल्ला अदालत मोरङमा प्रहरीले सोमबारनै म्याथ थप गर्ने तयारी गरेको छ । म्याथ थप गर्न र अनुसन्धानको लागि निरौलालाई विराटनगर ल्याइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

निरौलालाई गृह मन्त्रालयको छानबिन समितिले आइतबार पक्राउ गरेको थियो । तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई पक्राउ गरेको हो । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।

निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो । तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो । सो घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानबिन गरेको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको समितिले छानविन गर्दै आएको छ । जसक्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको खुलेको हो । घटनामा संलग्न २२ जना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया