काठमाडौँ, १३ वैशाख । बंगलादेश-भारत-नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन्। ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन्।

नेपाल प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ।मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यलगायतले उनीहरूलाई स्वागत गरेका हुन्। बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका सात गरी ५७ अधिकारी छन्।

ती बस सोमबार बिहान ८ बजे ढाकाबाट हिँडेका थिए। बस हिँड्नेबित्तिकै ढाकाको जाममा फस्दा आउन ढिला भएको एक नेपाली अधिकारीले बताए। बस मंगलबार अपराह्न भारत-बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो। पहिलो रात ढाकाको रंगपुरमा वास बसको थियो।

दोस्रो रात भारतको सिलगुढीमा बसेको बस तेस्रो रात बुधबार सौराहामा बसेको छ। बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरूप त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो ।सम्झौता भएको ३ वर्षपछि रुट परीक्षण सुरु गरिएको छ। ढाकाबाट छुटेका श्यामोली परिवहनका ती बस बिहीबार काठमाडौं पुग्नेछन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया