बिर्तामोड / रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् ।झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा पीडित मेचीनगर ६ का ३५ वर्षीय थापालाई निर्दोष सावित गर्दै चन्द्रगढी कारागारबाट बुधबार मुक्त गरिएको हो ।

२०६४ जेठ २२ मा झापाको साविक टाघनडुब्बा-२ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्तचन्दन प्रहरीले बरामद गरेको थियो । रक्तचन्दन लुकाएको अभियोगमा मेचीनगर-१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले २६ लाख ९९ हजार दुई सय जरिवाना र ६ महिना कैद सजाय हुने ठहर गरेको थियो ।

उक्त मुद्दामा नाम थर मिलेकै कारण मेचीनगरका श्याम थापा पक्राउ परेका थिए । फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा बसेर फर्किएका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरी कारागार चलान गरिएको थियो ।

निर्दोष श्यामले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेस गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष साबित गर्दै रिहा गरेको हो । ‘हामीले भाइ विदेशमा हुँदाको सबै डकुमेन्ट अदालतमा बुझायौं, घटना भएको समयमा विदेश भएको प्रमाण पुगेपछि, निर्दोष हो भन्ने फैसला भएपछि भाइ रिहा भयो’, श्यामका दाजु केदार थापाले भने ।

यता जिल्ला वन कार्यालयले रक्तचन्दन तस्करीसँग सम्बन्धित मुद्दा र फाइल खडा गर्ने भएकाले वन कार्यालयको कमजोरीका कारण गलत व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्‍णु कुमार केसी बताए ।

‘निर्दोष श्यामलाई जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइबाट खटिएको प्रहरीले पक्राउ गरी ल्याएको रहेछ । जिल्ला वन कार्यालयले पहिले खडा गरेको मुद्दा फाइल र प्रमाणका आधारमा मात्र प्रहरीले पक्राउ गर्ने हो’, झापाका प्रहरी प्रमुख, एसपी केसीले भने ।

पक्राउ गर्नुमा प्रहरीको कमजोरी नभएको उनको भनाइ छ । ‘रक्तचन्दनसँग जोडिएको केस रहेछ, त्यो सबै अभियुक्तको फाइल जिल्ला वन कार्यालयले तयार गर्ने हो । सोही समयमा अर्कै व्यक्तिको फोटो र विवरण राखेकाले त्यस्तो भएको हुन सक्छ’, प्रहरी उपरीक्षक केसीको भनाइ छ।

म यसरी परें जेल : श्याम

सहारा सहकारीबाट ऋण लिएर अटो रिक्सा किनेको छु, त्यही चलाएर जीविकोपार्जन गर्दै आएको थिएँ । म पक्राउ परेको दिन शुक्रबार थियो । काँकडभिट्टा स्टेन्डमा यात्रु प्रतीक्षामा अटो रोकेर बसेका बेला अदालतबाट प्रहरी आए र मेरो नै फोटो देखाए । यो तपाईं नै हो भनेर सोधे मैले हो भनें । त्यसपछि तपाईंको पहिलेको मुद्दा रहेछ नि जिल्ला अदालतमा भनेर सोधे उनीहरूले । मलाई थाहा छैन भनें । मलाई त्यहीँबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टा लगियो ।

त्यहाँका प्रहरी प्रमुखले पनि अदालतको फैसला रहेछ भन्नुभयो । मलाई सोही रात चन्द्रगढीस्थित हिरासतमा लगेर राखियो । भोलिपल्ट शनिबार बिदा थियो आइतबार पनि सार्वजनिक बिदा परेकाले सोमबार अदालतमा हाजिर गराएर मलाई कारागार चलान गरियो । त्यहाँ मैले केही बोल्न पाइनँ ।

सबै सपनाजस्तो लाग्यो । कारागार चलान गरेपछि भित्र त केही नराम्रो व्यवहार भएन । तर, बिनाकारण जेल बस्नु पर्दा मानसिक तनाव धेरै भयो । विदेश बस्दा केही कमाउन सकिनँ । नेपाल आएर ऋण लिएर अटो रिक्सा चलाउँदै गर्दा पक्राउ पर्दा अब के गर्ने, कसो गर्ने ? परिवारमा के भयो होला ? कता फसें भन्ने मात्र सोचें ।

नेपाली समाज हो, मलाई प्रहरीले पक्राउ गरेपछि नै समाजमा नकरात्मक असर त पर्‍यो नै । बिनाकारण जेल बस्दासमेत समाजमा हिँड्दा असहज त लाग्दो रहेछ नै । जेलबाट त फर्किए मानसिक तनाव धेरै भएर होला केही सोच्न पनि सकेको छैन । म निर्दोष थिएँ, अहिले निर्दोष भन्दै अदालतले पनि छाड्यो । यसको क्षतिपूर्ति हुन्छ कि हुँदैन मलाई थाहा छैन । अन्य देशमा त बिनाकारण एक घण्टा राख्दासमेत क्षतिपूर्ति तिर्नुपर्छ।

मलाई त १३ दिनसम्म अभियुक्त बनाएर राखे । यसको क्षतिपूर्ति मलाई कसले दिने ? अब क्षतिपूर्ति पाऊँ भन्दै अदालत जाऊँ भने आफ्नै वकिल राख्नुपर्‍यो । पैसा खर्च गर्नै पर्‍यो । यहाँ रिक्सा किनेको सहाराको ऋण कसरी तिरौं भन्ने पीर छ । नतिर्दा रिक्सा नै तानिदिन्छन् कि भन्ने डर छ । मलाई बिनाकारण थुन्ने, परिवार र मलाई मानसिक तनाव दिने, यसको क्षतिपूर्ति मलाई सरकारले दिनुपर्छ भन्ने मेरो माग हो । क्षतिपूर्तिले मेरो गुमेको सामाजिक प्रतिष्ठालाई उकास्न त सक्दिनँ होला । तर, मजस्तो अरू कसैले जेल बस्नु नपरोस् ।आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया