इनरुवा खानेपानी उपभोक्ता संस्थाका नव निर्वाचित अध्यक्ष सहित तीनजना कार्वाहीमा परेका छन् ।

नेपाली कांग्रेस आवद्ध रही एमालेसँगको संयुक्त प्यानलमा चुनाव लडेका दिनेश सुवेदी, अञ्जु प्याकुरेल र पार्टी हीत विपरित कार्य गर्ने सितोष पोखरेललाई पार्टीको नगर कार्य समितिले कार्वाही गरेको हो ।

पार्टीको मूल्य, मान्यत, सिद्धान्त र निर्देशन विपरित गएर अनुशासनहीन कार्य गरेकाले निजहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरि निष्कासन गरिएको नगर सभापति राजन मेहताले जानकारी दिए ।

मेहताले सो व्यहोराको जानकारी जिल्ला पार्टी कार्यालयलाई समेत गराई सकिएकाले जिल्लातहले नगर समितिको निर्णय अनुमोदन गर्नेमा आफु विश्वस्त रहेको बताए ।

नेपाली कांग्रेसको तर्फबाट आधिकारिक अध्यक्ष पदका उम्मेदवार बनाइएका योगेन्द्रप्रसाद मेहताको विपक्षमा उत्रिएको र आधिकारिक उम्मेदवारहरुलाई हराएको भन्दै सुवेदी उपर साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको मेहताले जानकारी दिए ।

प्याकुरेल र पोखरेलले समेत अनुशासनहीन कार्य गरेकाले उनिहरुका हकमा समेत साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको नगर सभापति मेहताले बताए ।

अनुशासनहीन कार्य गरेको भन्दै नगर कार्यसमितिबाट निलम्बन गरिएका तीनैजना विरुद्ध जिल्ला तहमा थप कार्वाहीकालागि सिफारिस गरिएको समेत मेहताले बताए । प्रारम्भिक चरणमा तीनजना उपर कार्वाही गरिएपनि अन्यको संलग्नताबारे अनुसन्धान थालिएको भन्दै दोषी पाइएकाहरुका हकमा समेत कार्वाही गरिने उनले बताए ।

नगर कार्य समितिको कार्वाहीमा परेका सुवेदी नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य हुन भने प्याकुरेल नगर कोषाध्यक्ष तथा पोखरेल क्रियाशिल जिल्ला पार्टी सदस्य हुन् ।

इनरुवा खानेपानी उपभोक्ता संस्था , खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति इनरुवा सुनसरीको २०७५ बैशाख ५ गते सम्पन्न निर्वाचनबाट दिनेश सुवेदी अध्यक्ष पदमा निर्वाचित बनेका थिए भने अञ्जु प्याकुरेल सहसचिवमा निर्वाचित बनेकी थिइन् ।

कार्वाहीमा परेका नेपाली कांग्रेसका क्रियाशिल सदस्य सितोष पोखरेल उपर पार्टी हित विपरित कार्य गरी विपक्षी उम्मेदवारहरुलाई सहयोग गरेको आरोप लगाइएको छ । सोही विषयलाई अनुशासनहीन कार्य ठहर गर्दै इनरुवा नगर कार्य समितिले पोखरेललाई समेत साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरेको जनाएको छ ।

उता पार्टी नगर कार्य समितिको कार्वाहीमा परेका इनरुवा खानेपानी संस्थाका हालका निर्वाचित अध्यक्ष दिनेश सुवेदीले नगर कार्य समितिको निर्णयलाई हतास मनस्थितीको पराकाष्ठाको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेसले कोही कसैलाई आधिकारिक उम्मेद्वार बनाएको बारे आफुलाई थाहा नभएको र परिणाम आफ्नो पक्षमा आउनु सकारात्मक भन्दै आइपर्ने चुनौतिको सामना गरेर अघि बढ्ने सुवेदीले प्रतिकृया दिएका छन् ।

तपाईको प्रतिक्रिया