काठमाडाैं । १७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत मोरङमा बुधबार पेस गरिएको अभियोगपत्रले वर्षाै‌देखि कसरी अवैध सुन तस्करी निर्बाध चलिरहेको थियो भन्नेबारे अनेकन तथ्य सतहमा ल्याएको छ ।

अदालतमा पेस गरिएका ६३ प्रतिवादी, पक्राउ परेकाको बयान र तिनीहरूको भूमिका सम्मिलित प्रतिवेदनले सुन तस्करीको संगठित अभ्यासबारे नयाँ तथ्य उधिनेको छ । तस्करीको माथिल्लो तहमा को–को थिए र यसलाई कसले भरथेग गरिरहेको थियो भन्नेबारे नयाँ प्रश्न जन्माइदिएको छ । तस्करको समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीका उच्च अधिकारीहरूसँगको मिलेमतोमा कसरी गुपचुप अवैध स्वर्ण धन्दा चलिरहेको थियो भन्ने प्रतिवादीहरूको बयानबाट खुलेको देखिन्छ । संगठित तस्करको समूहले फ्लाई दुबई र थाई एयरलाइन्समार्फत दुबईबाट सुन ओसारेको तथ्य अनुसन्धानले देखाएको छ । दुबईबाट आउने सुन मुख्यत: दुई तरिकाले विमानस्थलबाट बाहिरिने गरेको देखिन्छ ।

पहिलो तरिका बिस्कुट आकारको सुन विमानभित्रको ट्वाइलेटमा हाल्ने र फ्लस गर्ने । उक्त सुन विमान ल्यान्ड भएपछि सफाइ मजदुरका रूपमा जाने कर्मचारीले ट्वाइलेटको दिसापिसाब जाने पाइप खोलेर दिसापिसाब सफा गर्ने भाँडामा राखेर बाहिर ल्याउने । दोस्रो तरिका भनेको विमानभित्र झोलामा राखेर ल्याइएको सुन विमानबाट ओर्लिने क्रममा प्रयोग हुने भर्‍याङयुक्त गाडी (र्‍याम) को माथिल्लो भागमा बनाएको प्वालभित्र खसाल्ने । यसरी खसालिएको सुन भर्‍याङको तल्लो भागमा गएर जम्मा हुन्थ्यो । यात्रु ओर्लिसकेपछि भर्‍याङयुक्त गाडी (र्‍याम) पार्किङमा लगिन्थ्यो । सीसीटीभीको कभरेज नहुने उक्त क्षेत्रमा राति भर्‍याङबाट सुन निकालेर बाहिर निकालिन्थ्यो ।

प्रतिवादीहरूको बयानका आधारमा पछिल्लो चार वर्षयता ठूलो परिमाणमा नियमित तवरमा सुन तस्करी भइरहेको देखिएको छ । विशेष समितिले ४ सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा सुन तस्करीका मुख्य व्यक्ति भनिएका गोरे भन्ने चुडामणि उप्रेतीको अनामनगरस्थित फ्ल्याटबाट बरामद गरिएका ९ डायरीमा उल्लेख भएको सुन ल्याउने व्यक्तिको नाम, परिमाण, ल्याएको मिति र ल्याउने भरियाको नामसमेत समावेश छ । अभियोगपत्रमा २०१५ जुलाईयता ४ सय २१ पटक ल्याइएको उल्लेख छ ।

अभियोगपत्रमा गोरेको फ्ल्याटमा भेटिएको डायरीमा तस्करीको सुन ओसारपसारमा प्रहरीसँग सहयोग लिएबापत क–कसलाई कति रकम दिइएको थियो भनेर पनि उल्लेख छ जसमा डीआईजी, एसएसपी, एसपी, डीएसपी र जवानलाई कुन समयमा कति रकम दिइएको थियो भन्ने उल्लेख छ । गोरेले तस्करीको सुन ओसारपसारमा सहयोग गरेबापत विभिन्न पटक गरेर प्रहरीलाई २ करोड बीस लाख ७७ हजार रुपैयाँ दिएको देखिन्छ ।

स्रोतका अनुसार विशेष समितिले हस्तलिखित सबै डायरी परीक्षणका निम्ति प्रहरीको विधिविज्ञान प्रयोगशालाका पठाएको छ । परीक्षणपछि ती अक्षर कहिले लेखिएका थिए, ती एकै व्यक्तिले लेखेका हुन् कि फरक–फरक व्यक्तिले भन्नेजस्ता तथ्य खुल्नेछन् ।

विमानस्थलमा कार्यरत कर्मचारी राजन थापाको बयानले दुबईबाट आएको सुन कर्मचारीहरूले कसरी विमानस्थलबाहिर पुर्‍याउँथे भन्ने तथ्य खोतलेको छ । थापाले सुन लिएर आउने यात्रुलाई विमानस्थलमा कार्यरत कर्मचारी राज महर्जनले भेटेर नेपाल एयरलाइन्सको बसमार्फत जहाजको ह्यांगरमा लैजाने र त्यहाँबाट आफू र प्रेमलाल चौधरीले उक्त सुन लिएर विमानस्थलबाहिर आउने गरेको बताएका छन् । उनले २०७४ जेठको अन्तिम साता तीन केजी सुन विमानस्थलबाहिर पुर्‍याएबापत ५० हजार रुपैयाँ पाएको समेत बताएका छन् । थापाले प्रत्येक हप्ताको अन्तरमा गरी ५ पटकसम्म सुन ओसारेको र त्यसबापत ५० हजार रुपैयाँका दरले रकम लिएको बताएका छन् ।

त्यसमध्ये एक पटक ६ केजी र अर्को पटक ८ केजी सुन ओसारेको बताएका छन् । उनको बयानबाट त्रिभुवन विमानस्थलमा अवैध सुन तस्करीको धन्दा कसरी नियमित रूपमा गुपचुप चलिरहेको थियो भन्ने बुझाउँछ ।

बयानका क्रममा थाई एयरलाइन्समा कार्यरत कर्मचारी हेमन्त मल्लले अवैध सुन कसरी विमानस्थल बाहिर ल्याइन्थ्यो भन्ने बताएका छन् । उनले थाई एयरको विमान काठमाडौं अवतरण गरेपछि एलबी भन्ने लालबहादुर मगरले यात्रु उत्रने भर्‍याङयुक्त गाडी विमानको ढोकामा जोड्ने र यात्रु उत्रिसकेपछि दोराम खत्रीले विमानभित्रको शौचालयको डस्टबिनमा राखिएको सुन ल्याउने गरेको बताएका छन् । मल्लले भनेका छन्, ‘भुजुङ गुरुङलगायतले ल्याएको सुन दोरामले यात्रु झर्ने भर्‍याङको छेउमा बनाएको प्वालबाट भित्र खसाल्थे । म र बालकृष्ण श्रेष्ठले यसरी सुन छिराएको अरूले देख्लान् भनेर छेक्ने गर्थ्याैं । गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले यात्रुको आवतजावत व्यवस्थापन गरेर अरूले थाहा नपाउने वातावरण बनाउँथे ।’
हेमन्तले बयानका क्रममा आफूले झन्डै एक सय पटक तस्करीको सुन विमानस्थलबाहिर पठाउन सहयोगी भूमिका निर्वाह गरेको र त्यस्तो कामबापत ६ हजार ५ सयदेखि ३७ हजार रुपैयाँसम्म लिएको बताएका छन् । उनले भनेका छन्, ‘पटक–पटकको सुन तस्करीबाट मैले १८ लाखजति सम्पत्ति आर्जन गरेँ ।’

थाई एअरलाइन्समा टेक्निसियन हेल्पर पदमा काम गर्ने सम्बिरप्रसाद तोलाङ्गेले पनि थाई एयरबाट आउने सुन कसरी बाहिर निकालिन्थ्यो भनेर बयानमा बताएका छन् । उनले विमानस्थलका सिनियर टेक्निसियन पदमा कार्यरत सानु बनले भनेपछि आफू तस्करीको काममा लागेको बताएका छन् । सानु तिनै व्यक्ति हुन्, जो ३३ किलो सुन हराएपछि चुडामणि उप्रेतीको निरन्तरको धम्की र दबाबपछि विमानस्थलभित्र गुडिरहेको ट्रयाक्टरमुनि छिरेर आत्महत्या गरेका थिए । सम्बिरले विमानबाट यात्रु निस्केपछि विमानभित्रको ट्वाइलेटमा एयरहोस्टेस र अन्य यात्रुलाई जान नदिने काम गर्ने गरेका थिए । उनले भनेका छन्, ‘रात परेपछि सानु बन विमानभित्र जान्थे र ट्वाइलेटभित्र रहेको सुन निकालेर धेरै वटा पकेट भएको ज्याकेटमा लुकाएर ल्याउँथे ।’ उनले हप्तैपिच्छे सुन आउने र बाहिर निकाल्न सहयोग गरेबापत ६ हजारदेखि ६५ हजार रुपैयाँसम्म पाएको बताएका छन् ।

प्रहरीले विमानस्थलभित्र काम गर्ने थाई एअरलाइन्स र नेपाल एअरलाइन्सका १३ कर्मचारीविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको छ । त्यसमा अधिकांश लोडर, हेल्पर, टेक्निकल असिस्टेन्टजस्ता तल्लो पदमा कार्यरत कर्मचारी छन् । राजन, हेमन्त र सम्बिरको भनाइले विमानस्थलबाट कसरी संगठित तबरले बारम्बार सुन बाहिरिने गथ्र्यो र त्यसको परिमाण कति रहन्थ्यो भन्ने बुझाउँछ । अाजकाे कान्तिपुरमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया