- मिकाइल आलम

इनरुवा । सुनसरी कोशी गाउँपालिका ८ स्थित भाण्टावारीबाट एक किसानको गोठबाटै हतियारधारी समुहले गाई भैसी लुटेर लगेका छन । आइतबार राति सीमा प्रहरी चौकी भाण्टावारीदेखि करिब २ सय मिटर उत्तरतर्फ रहेको सिताराम यादवको घरबाट ७ जनाको समुहमा आएका हतियारधारीहरुले उनलाई हतियार देखाउँदै गाई भैसी लुटेर लगेका हुन ।

पीडित सितारामका अनुसार राती १० बजेर ३० मिनेटको समयमा आएको सो समुहले उनलाई हात खुटामा डोरीले बाधेर पेस्तोल देखाउदै ४ थान दुधालु भैसी र ८ थान दुधालु गाई लुटेर कोशी किनारतर्फ आफूलाई समेत लिएर गएको बताए । कोशीको बाँधदेखि केही भित्रतर्फ लगे पछि भने आफूलाई छाडेर गाई भैसी लिई सो समुह भारततर्फ गएको सितारामको भनाइ रहेको छ । प्रहरी चौकीदेखि २ सय मिटरको दुरीमा रहेको उनको घरमा प्रहरी राती १२ बजेपछि मात्र पुगेको स्थानीयले बताएका छन् । उनको घरबाट चोरहरुले यस अगाडि समेत ४ पटक गोठबाटै भैसी चोरी गरेर लगेका थिए ।

तपाईको प्रतिक्रिया