Surrogate babyकाठमाडौं , २९ मंसिर । भाडाको कोख (सरोगेसी) प्रविधिबाट नेपालमा जन्मिएका शिशुलाई विदेश लैजाने क्रम ह्वात्तै बढेको छ । गृहमन्त्रालयले सरोगेसीबाट जन्मिएका शिशुलाई सम्बन्धित देश लैजान दिन अध्यागमन विभाग र सीमा क्षेत्रका कार्यालयलाई परिपत्र गरेको ४० दिनमा ७६ शिशु नेपाल बाहिरिएको  छ ।

यस्ता शिशु बाहिरिने क्रम अझ बढ्ने अनुमान छ । यसबाट अवैध मानिएको सरोगेसीबाट बच्चा जन्माउने गिरोह नेपालमा ठूलै रहेको प्रमाणित हुँदै गएको छ । अध्यागमन विभागका निर्देशक विश्व न्यौपानेका अनुसार इजरायल, क्यानडा, अस्ट्रेलिया, ब्राजिल, अस्ट्रिया, बेलायत, अमेरिकालगायत मुलुकका नागरिकले नेपालमा ‘सरोगेसी’ बाट जन्माएका शिशु लग्ने क्रम बढेको हो। न्यौपानेले  भने, ‘गृह मन्त्रालयले उक्त निर्णय गर्नासाथ नेपालमा सरोगेसीबाट जन्मिएका शिशु लैजाने क्रम बढेको छ र यो अझै बढ्न सक्छ।’

उनका अनुसार सोमबारमात्रै बेलायतका नागरिकले नेपालमा सरोगेट आमाबाट जन्मिएका दुई शिशुलाई लगेका छन्। सरोगेसीबाट शिशु जन्माएर लैजानेमा सबैभन्दा बढी इजरायल र क्यानडाका नागरिक छन्।
सर्वोच्च अदालतले ‘सरोगेसी’मा रोक लगाउन आदेश दिएको मितिसम्म जन्मेका शिशुहरूलाई सम्बन्धित देशमा लैजान दिने निर्णय गर्दै गत कात्तिक १२ गते अध्यागमन विभाग र सीमा कार्यालयलाई परिपत्र गरेको थियो। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया