Nepalearthkuake-rice१ पुस, गोरखा । विनाशकारी भूकम्पले सिंगो गाउँमा पहिरो गएपछि बारपाक-५ कामीगाउँका ५२ परिवार विश्वकर्मा अहिले ४ नम्बर वडामा रहेको सार्वजनिक जग्गामा टहरो बनाएर बसेका छन्।

आठ महिना शिविरमै बिताएका उनीहरू दीर्घरोगबाट थलिन थालेका छन्। स्थानीय सुनिता विक भन्छिन्, ‘यहीं बसेपछि मलाई हाडजोर्नी दुख्ने रोगले भेट्यो।’ चिसोका कारण शिविरमा कसैलाई दम, कसैलाई पेट दुख्ने, कसैलाई आँखा दुख्ने, कसैलाई रगतमासी पर्नेलगायतका समस्याले सताइरहेको उनले बताइन ।

चिसो बढेर बस्ती रोगाउन थालेको अर्की स्थानीय सुनमाया विकले बताइन्। ‘हिमालको चिसो स्याँठ सीधै टाउकोमा पर्छ’, विकले भनिन्, ‘चिसोले जोर्नी दुखेर उठ्नबस्न नसक्ने भएकी छु। झन् बेलाबेला भुइँचालो गइरहन्छ। केटाकेटीलाई हातमा झुन्ड्याउँदै भीरभीर, कान्लाकान्ला हाम फाल्दाफाल्दै गरिखाने ज्यान बिग्रियो।’

सानो झुप्रोभित्र खाना बनाउन आगो फुक्दा शिविरका बालबालिका र वृद्धवृद्धालाई आँखा, छाती र घाँटीको समस्या देखिन थालेको उनले बताइन्। भूकम्पपीडितलाई सरकारले त वास्ता गरेन, जिल्लाले पनि वास्ता नगरेको स्थानीय उत्तम विकले बतए।’सरकारचाहिँ अहिले मधेस र भारततिर मात्रै केन्द्रित भएको छ,’ उनी भन्छन्, ‘केन्द्रले नहेरे पनि जिल्लाले त हाम्रो पीडा देख्नुपर्ने हो, देखेन।’

बारपाकमात्र होइन। यहाँभन्दा माथिका धेरै जाडो हुने र भूकम्पबाट बढी प्रभावित २४ गाविसको अवस्था निकै कष्टकर हुँदै गएको छ। तर न्यानोका लागि भनेर जिल्ला दैवी प्रकोप उद्धार समितिले संकलन गरेका राहत सामग्री तीन महिनादेखि सदरमुकामको गोदाममै थन्किएका छन्। थन्केका सामग्री कतिपय मिति नाघिसके, कतिपय मुसाले काटेर नष्ट गरिसक्यो। अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ।

 

तपाईको प्रतिक्रिया