मुलुकलाई सतिप्रथाको युगमा फर्काउने तालिवानी चिन्तन

madhab

४ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसी मोर्चामा तालिबानी चिन्तन देखिएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर गएपछि बिधवाले टेकेको भन्दै मन्दिर गंगाजलले सफा गरेको घटनालाई लिएर पूर्व प्रधानमन्त्री नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले-‘राष्ट्रपति जानकी मन्दिरमा जाँदा जुन घटना भयो र त्यसपछि बिधवा भनेर जुन अशोभनीय हर्कत गरियो, त्यसले मधेसी मोर्चाको बिचार र कार्यकर्ता कस्ता छन् भन्ने पुष्टि भएको छ । यो मुुलुकलाई सति प्रथाको युगमा फर्काउने सामन्ती चिन्तन हो ।’

आफू मधेसी जनताबाटै निर्वाचित जनप्रतिनिधि भएका भन्दै पूर्व प्रधानमन्त्री मधेसी जनतासँगै यस घटनाबाट आफू लज्जित भएको नेपालले बताए ।

मधेसी जनताले मोर्चा कार्यकर्ताको यस्तो हर्कत स्वीकार नगर्ने उनले बताए । ‘मोर्चाले यो घटनाको निन्दा गरेको छैन, त्यसैले उनीहरुले यो नियोजितरुपमा गरेको पुष्टि भइसकेको छ’ नेपालले भने-‘यो संसारभरका महिलामाथिको अपमान हो, यसको सर्वत्र बिरोध हुनुपर्छ, मधेसका सामन्तलाई नंग्याउनुपर्छ ।’

सबैतिरका महिलाले यो अपमान र सामन्ती शैलीको निन्दा गर्नुपर्ने नेता नेपालले बताए । के उनीहरुका आमा, हजुरआमा बिधवा हुँदैनन् ? बिधवा हुनु नारीको दोष हो ?’ उनले भने-यो सामन्ती तालिवानी चिन्तनको सबैले भण्डाफोर गरौं ।’अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया