Petrol1काठमाडौं पुस ६।दुई महिनाअघि नेपाल र चीनबीच इन्धन खरिद गर्ने विषयमा ‘फ्रेमवर्क एग्रिमेन्ट’ भए पनि व्यापारिक सम्झौता हुन सकेको छैन । चीनका लागि नेपालका राजदूत डा. महेश मास्केको नेतृत्वमा भएको भ्रमणका क्रममा भएको यो समझदारीयता प्राविधिक टोलीले तीनपटक चीन गएर इन्धन र ग्यास ल्याउन सकिने सम्भाव्यता अध्ययन गरेको छ । प्राविधिक विवरण आइनसकेका कारण यस विषयमा कूटनीतिक छलफल अघि नबढेको परराष्ट्रका एक अधिकारीले बताए । ‘पहिला हाम्रोतर्फबाट विवरण र के गर्ने भन्ने तयारी नभएसम्म चीनसँग यसबारे कूटनीतिक रूपमा गर्ने कुराकानी नै केही छैन,  ती अधिकारीले भने । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा ८ पुसमा चीन भ्रमणमा जाँदै छन् । संविधान जारीपछि चीन जाने उनी नै नेपालका पहिलो उच्चपदस्थ व्यक्ति हुनेछन् । उनले १० पुसमा आफ्ना चिनियाँ समकक्षी वाङ विसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । इन्धनको मूल्यका विषयमा थापाले चीनको उच्च राजनीतिक तहमा वार्ता गरेपछि उसले नेपाललाई उपलब्ध गराउने तेलको अन्तिम मूल्य तय हुने बुझिएको छ । उपप्रधानमन्त्री थापाले मन्त्रिपरिषद्को बैठकपछि सम्झौताबारे धारणा लिएर जाने उनी निकटस्थ स्रोतले बतायो ।

दुई महिनाअघि आपूर्तिमन्त्री गणेशमान पुन एक व्यापारीसँग बेइजिङ पुगे पनि त्यसबारे कुनै तथ्य सार्वजनिक भएको छैन । भ्रमणबाट फर्किएपछि मन्त्री पुनले एक सातामा चीनबाट तेल आउने दाबी गरेका थिए । ‘मन्त्रीजीको भ्रमण चर्चामा आयो, तर उहाँ कहाँ–कहाँ जानुभयो, के भेटवार्ता भयो भन्ने कुरा सरकारको औपचारिक रेकर्डमा छैन, त्यसबारे भन्ने कुरा पनि केही छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने । तर, पुनको भ्रमणलगत्तै राजदूत डा. मास्के नेतृत्वको टोलीले चीन गएर ‘फ्रेमवर्क एग्रिमेन्ट’ गरेको थियो भने त्यसलगत्तै चीनले अनुदानमा दिएको पेट्रोल लिएर राजदूत मास्के रसुवा हुँदै काठमाडौं आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया