Nepali-Congress-Party-Flagकाठमाडौं पुस ६: कांग्रेसले क्रियाशील सदस्यतामाथि उठेका विचार र सुझाबलाई समेटी अन्तिम निर्णय गर्ने जिम्मा छानबिन समितिलाई नै दिएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता विवादमा आएका सुझाब समेटी तीन दिनभित्र अन्तिम निर्णय गरी पार्टी सभापतिलाई बुझाउने जिम्मा दिएको हो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नरहरि आचार्यले केन्द्रीय समितिमा प्रस्तुत गरेको प्रतिवेदनमाथि सदस्यहरूले सुझाब दिएपछि बैठकले यस्तो निर्णय गरेको हो । ‘क्रियाशील सदस्यता छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदनबारे केन्द्रीय समितिमा छलफल टुंगियो,’ बैठकपछि केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसबारे केन्द्रीय समितिमा उठेका विचार र सुझाबलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले नै तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउने र सोहीअनुसार सभापतिले निर्वाचन समितिमा पठाउनेछ ।’

क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदनमाथि बुधबारदेखि सुरु भएको बैठकमा ५७ सदस्यले धारणा राखेका थिए । त्यसमाथि सुझाब दिने क्रममा कांग्रेसमा गुटगत प्रभाव देखिएको थियो । संस्थापनले देउवा पक्षद्वारा विधि र प्रक्रिया मिचेर बाँडिएका सदस्यतालाई मान्यता दिन नहुने र देउवा पक्षले नयाँ सदस्यलाई मान्यता दिनुपर्ने मत राखेका थिए ।

कांग्रेसमा विवादका कारण पर्सा, सप्तरी, नुवाकोट, सिरहाका सबै निर्वाचन क्षेत्र र अन्य जिल्ला, क्षेत्र, नगर, गाविसमा पनि विधि र प्रक्रिया नपुगेको भन्दै सदस्यता स्थगित गर्दै महाधिवेशनमा उनीहरूले भाग लिन नपाउने प्रतिवेदन केन्द्रीय समिति बुझाएको थियो । कांग्रेसमा तीन लाख १६ हजार आठ सय ६६ पुराना सदस्य थिए । नयाँ दुई लाख १४ हजार सदस्य थपिएका छन् । पुराना क्रियाशील सदस्यमध्ये ६० हजारले नवीकरण गरेका छैनन् ।

सदस्यहरूले बोल्ने क्रम सकिएपछि संस्थपन पक्षका नेताहरूले देउवा पक्षले आफूखुसी जालझेल, विधि र प्रक्रिया मिचेर सदस्यता बाँडेको भन्दै अन्तिम निर्णय गर्ने अधिकार सभापतिलाई दिनुपर्ने तर्क गरेका थिए । यस्तो तर्क गर्नेमा संस्थापनपक्षीय नेताहरू बलबहादुर केसी, दिलेन्द्र बडू, आनन्द ढुंगानासहितका थिए । तर, देउवा पक्षका नेताहरूले सभापतिलाई त्यस्तो अधिकार दिने व्यवस्था नभएको भन्दै बरु छानबिन समितिले नै टुंग्याउँदा उचित हुने सुझाब दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया