coldपुष ६ काठमाडौ । बढदो वायु प्रदूषणसँगै स्थानीय स्तरमा उत्पन्न भएको बादलले चिसो वायु फ्याँकेका कारण राजधानीसहित देशभर तापक्रम घट्ने क्रम जारी रहेको मौसमविद्हरूले बताएका छन् ।

‘वायु प्रदूषणले सूर्यको किरण वायुमण्डलमै रोकिदिएको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘दिन छोटिने क्रम जारी भएकाले पनि गत सातादेखि अधिकतम र न्यूनतम तापक्रममा गिरावट आइरहेको छ । त्यसले चिसो बढाएको छ ।’

राजधानीको न्यूनतम तापक्रम आइतबार २ डिग्रीमा झरेको छ भने जुम्ला र जिरीमा माइनससम्म पुगेको छ । अधिकतम तापक्रम पनि राजधानीमा १७, जिरी, ताप्लेजुङ, जुम्ला, डडेलधुरा तथा ओखलढुंगामा १२ को हाराहारी झरेको छ ।

२२ डिसेम्बरसम्म दिनहरू छोटिने क्रम जारी रहने र छोटा दिनमा पुरै समय सूर्यको किरण वायुमण्डलमै रोकिने हुनाले चिसो बढेको हो । ‘छोटा दिनमा अलिअलि पनि घाम जमिनमा नआएपछि चिसो स्वतस् बढ्छ,’ मौसमविद् अर्यालले भने, ‘अहिले त्यही भएर बढी चिसो महसुस भएको हो ।’ आजको कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया