वीरेन्द्र केएम


अधिकारकेन्द्रित भनिएको जारी मधेस आन्दोलनबाट उपलब्धिहरू के के हासिल भयो भन्दा पनि यस अन्दोलनकै आडमा धेरै थोक गुमेको छ । चाहे राज्य पक्ष होस् वा आन्दालनरत पक्ष, यसको जिम्मेवारी दुवै पक्षले उत्तिकै नै रूपबाट लिनुपर्ने हुन्छ । यो आन्दोलन पक्कै पनि मधेसीद्वारा पहाडीविरुद्ध गरिएको आन्दोलन थिएन, होइन पनि । तर, यो आन्दोलनसँगै भएका वा आएका क्रिया–प्रतिक्रियाले आन्दोलन मधेसीले पहाडीविरुद्ध आन्दोलन गरिरहेको आभास गरायो । यो आन्दोलन पक्कै पनि यही देशका मधेसी समुदायले गरेको आन्दोलन हो । तर, राज्यपक्षबाट आन्दोलनकारीहरू देशका नागरिक नै नभएकोजस्तो व्यवहार पनि भयो । जसकारण जारी आन्दोलनलाई कसरी ‘सेफल्यान्डिङ’ गर्ने भन्नै सबैभन्दा चुनौतीको विषय बनेको छ ।

birendra km

आन्दोलनरत पक्षले राखेका माग पूरा गर्न सक्ने अवस्था छ वा छैन ? यदि पूरा गरियो भने के हुन्छ ? वा पूरा भएन भने के हुन्छ ? मधेस आन्दोलनको सन्दर्भमा अहिलेको मूल प्रश्न यही हो ।
सीमांकनलाई मूल ‘बटमलाइन’ बनाएका मधेसी मोर्चाको मागलाई पूरा गरियो भने, त्यस्तै प्रवृत्तिका अर्का शक्तिहरूको सम्भावित आन्दोलनलाई कसरी थेग्ने ? राज्यपक्षलाई पनि चुनौती छ ।
यदि यो माग पूरा नगरी आन्दोलनलाई स्थगित गर्ने निर्णय गरियो भने झन्डै ५० भन्दा बढी नागरिकको मृत्यु, सयौं घाइते, लाखौँ जनधनको क्षति किन ? यो प्रश्नको जवाफ आन्दोलनरत पक्षले पनि दिनुपर्ने हुन्छ ।
जेहोस्, नेपालको इतिहासमै सबैभन्दा ठूला औपचारिक मधेस आन्दोलनकै नाममा आन्दोलनरत पक्ष र राज्यपक्ष गरी दुवै पक्षबाट भएका विभिन्न गतिविधिले सिंगो नेपाली समाजमा नराम्रो घाउ अवश्य पनि सिर्जना गरेको छ, त्यो पनि लामो समयसम्म निको नहुने गरी । निहत्था जनतालाई टाउकैमा सीधै गोली हानी निर्मम हत्यादेखि मानव घेरा हाली कुटीकुटी हत्या गर्ने, एम्बुलेन्सबाट थुतेर हत्या गर्ने आदि निकृष्ट कार्य पनि मधेस आन्दोलनका नाममा भएको छ । यहीबीचमा काठमाडौंकेन्द्रित जनतामा मधेसी समुदायप्रति घृणा र मूल मधेसी जनतामा पहाडी समुदायप्रति घृणा गर्ने वा गर्नुपर्ने वातारण पनि सिर्जना भएको यथार्थलाई नकार्न सकिँदैन ।
आन्दोलनरत पक्ष होस् वा सत्ताधारी दल, दिनहरू बदलिए आउँदा दिनमा उनीहरू एउटै स्थानमा उभिन सक्नेछन् । तर, राजनीतिक रूपबाट सिगो नेपाली समाज भड्किएकाले राजनीतिक पूर्वाग्रहकै कारण मधेस–पहाडबीचको भाइचारा हराएको स्थिति छ, यो गम्भीर कुरा हो ।
योबीचमा कैयौँको सिन्दुर पुछिएको छ, कैयौँले अभिभावक गुमाएका छन्, कैयौँले सन्तान गुमाएका छन् र कैयौँको जीवन नै थला परेको छ । यी घाउ मेटिन अवश्य पनि लामो समय लाग्नेछ । मधेसमा जनता रगतमा लटपट भइरहँदा देशको कतिपय भू–भागमा संविधान आएको दीपावली पनि मनाइएकै हो । सशस्त्र जनयुद्धका बेला समेत युद्धबिरामको सास लिई अमन चयनले दसैँ–तिहार मनाएका नेपाली जनताले यसपटक भने आन्दोलनबीच नै भय, त्रास वा अभावमा चाडबाड मनाए ।
मधेसमा यतिबेला जताततै एउटै चर्चा छ, त्यो हो ‘एबेर नाइ त कहियो नाइ’ अर्थात् यसपालि भएन भने कहिले पनि हँुदैन । मधेसका अधिकांश सर्वसाधारणमा समेत हाल चलिरहेको आन्दोलन वारपारको आन्दोलन भएको मनोविज्ञानले बास गरेको छ । सप्तरीको रूपनीस्थित नास्ता पसल सञ्चालन गर्ने ६१ वर्षीया रत्नादेवी साह भन्छिन्, ‘अहिलेसम्म हामी मधेसी कैयौँ पीडा सहेर पीडित भएर बस्यौँ, अर्काको दास बनेको धेरै भइसक्यो, तर यसपालि वारपारको लडाइँ भइरहेको छ । पहाडी शासकले हामीमाथि सदियौँदेखि राज गरेर बसेका छन् ।’
उनलाई आन्दोलनका मूल मुद्दा थाहा नभए पनि शासन सत्तामा, प्रहरी, सेना, कर्मचारीमा पहाडीको वर्चस्व भएको थाहा छ । उनले भनिन्, ‘सरकार त हामीहरूको पनि हुनुपर्यो । मलाई त अरु थाहा छैन, हामी मधेसी पनि प्रहरी, सेना, कर्मचारी हुन पाउनुपर्यो ।’
तर, सिन्धुलीस्थित सिन्धुलीगढीमा मःमः पसल सञ्चालन गरेर बसेकी २९ वर्षीया शान्तामाया राय भन्छिन्, ‘यो सब इन्डियाको इसारामा भइरहेको छ, इन्डियाबाट आएका इन्डियनले नेपालीको भएको अधिकार खोस्न लागिपरेका छन् । आज सीमांकन भन्दै आन्दोलन गरिरहेका छन्, भोलि त्यो एरिया नै इन्डियामा गाभ्ने छन्, यी मधेसीलाई घोँक्रेठ्याक लाउनुपर्छ ।’
रिपोर्टिङका क्रममा सिन्धुलीको बाटो हुँदै सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषासम्म पुग्दा सामान्य चिनेका सर्वसाधारणको एउटै जिज्ञासा रहन्थ्यो, ‘केना छै काठमाडौंवाला सब एहुबेर अधिकार देतै की नाइ ? यदि नाई देतै त एहिबेर थाह भ जेतै मधेसके हैसियत कतेग छै ।’ अर्थात् के छ, काठमाडौंले यसपालि पनि अधिकार दिन्छ कि दिँदैन ? दिँदैन भने यसैपटक थाहा हुन्छ कि मधेसको शक्ति कति छ ।
आमसर्वसाधारण समेत आन्दोलित रहेको मनोबल मधेसमा यतिबेला प्रस्ट रहेको आभास हुन्छ । लामो समयदेखि जारी आन्दोलनका कारण कैयौँ शिक्षण संस्थादेखि ठूला–साना कलकारखानासम्म ठप्प छन् । तर, सर्वसाधारणमा यसबारे खासै गुनासो छैन । उनीहरू भन्छन्, ‘तीन महिना त के वर्ष दिन पनि आन्दोलन गर्न तयार छाँै । तर, यो अन्तिम हुनुपर्छ ।’
३० साउनबाट औपचारिक रूपमा सुरु भएको मधेस आन्दोलन अझै जारी छ । तर, आन्दोलनबारे मधेस र राजधानी काठमाडौंको बुझाइ भने फरक पाइन्छ, फरक–फरक व्याख्यासमेत हुने गरेका छन् । सप्तरीको भारदहस्थित आन्दोलनकारी राजीव राउतको मृत्युसँगै चर्केको यो आन्दोलनकै कारण अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् । सुशील कोइरालाको सरकार हँुदै केपी शर्मा ओली सरकारसम्म आइपुग्दा पटक–पटक कैयाँै अनौपचारिक–औपचारिक वार्ता हुँदै मंगलबार मात्रै संसदमा कडा विरोधको बाबजुद पनि दुईवटा संशोधन विधेयक प्रस्तुत भइसकेको छ । तर, उपेन्द्र–राजेन्द्रदेखि महन्थ राजेन्द्रसम्मको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगै शरत्सिंह भण्डारीदेखि जेपी गुप्तासम्मको अर्को नयाँ मोर्चाले विभिन्न सभा, जुलुस, वार्तालाई जारी राखेका छन् ।
पछिल्लोपटक मधेस आन्दोलनको समाधान दिल्लीमा खोजिँदै छ । सत्ताधारीदेखि आन्दोलनकारी नेता मधेस आन्दोलनको मुद्दा बोकेर दिल्ली पुगेर आइसकेको अवस्था छ ।
सुनसरीस्थित रामनगर भुटाहाका कौशलकिशोर कर्ण घाउ काठमाडौंमा तर दबाई दिल्लीमा खोजिने कार्य राज्य र आन्दोलनरत पक्षबाट भइरहेको बताउँछन् ।’ ‘सरकारी ठूला दलका नेता, मन्त्री र वरिष्ठ सरकारी कर्मचारीजति भारतविरोधी गतिविधि गर्नमै व्यस्त रहे, मधेसीहरूको आन्दोलन हो भनी काठमाडौंमा छनकसम्म नपरोस् भन्ने पक्षमा उनीहरूको क्रियाशीलता रह्यो,’ उनी भन्छन्, ‘आन्दोलनरत पक्ष पनि जनताभन्दा आफ्ना पार्टीगत राजनीतिक फाइदा कसरी लिन सकिन्छ भन्नमै क्रियाशील रहेका छन् र यसबीचमा राज्य अवश्य पनि चुकेको छ ।’
सुनसरीकै वसन्तपुर सिसुवा धर्मपुरका शिक्षक कालीचरण मेहता दुई–चार दिनको आन्दोलनकै भरमा ६ बाट ७ प्रदेश बनाउने प्रमुख शासक भनाउँदा नेताले मधेसीको आन्दोलनलाई आन्दोलन नसम्झिनु अवश्य पनि मधेसी दलहरूको जगलाई बलियो बनाएको बताउँछन् ।
उनको भनाइ छ, ‘मधेसीहरूले राखेका माग जायज छन् वा नाजायज, त्यसको पनि किटान हुनुपर्दछ, तर राज्यले मधेसीको रगतलाई पानी सम्झनु हुँदैन । सुनसरीका जनताले के चाहेका छन्, त्यसको जवाफ दिने अधिकार सरकारी वा आन्दोलनकारी नेतालाई छ कि यहाँका जनतालाई ?’
राज्य र आन्दोलनरत पक्ष दुवैले आ–आफ्ना हठ त्याग्नुपर्ने अवश्य पनि देखिन्छ । किनकि आन्दोलनको मागभन्दा पनि यी आन्दोलनका नाममा बल्झिएको घाउलाई निको पार्नुपर्ने भएको छ । र यो जिम्मा हरेक नेपालीको काँधमा आएको छ ।

(केएम भारतीय समाचार संस्था एबीपी न्युज नेटवर्कका नेपाल प्रतिनिधि हुन् )

साभार:रातोपाटिबाट

तपाईको प्रतिक्रिया