Congress-and-Morcha-Bartaपुष ९ काठमाडौं । तराई मधेस आन्दोलन सुरु भएको एक सय ३० दिन पुगिसकेको छ । ३० साउनबाट सुरु भएको आन्दोलनले मुलुकका प्राय: सबै क्षेत्रमा असर पारे पनि मधेस आन्दोलन तत्काल सल्टिने सम्भावना देखिएको छैन ।

यसबीचमा सरकार र आन्दोलनरत पक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच जम्माजम्मी १८ पटक औपचारिक वार्ता भए ।

तीमध्ये १५ कात्तिक र २ मंसिरको वार्तामा भने मुख्य एजेन्डाले प्रवेश पाएका थिए । अन्य वार्ता भने सामान्य गफगाफमा सकिएका छन् ।

६ असोजमा राजविराजमा बसेको मोर्चाको बैठकले सरकारसँग वार्ता गर्न वार्ताटोली गठन गरेको थियो । लक्ष्मणलाल कर्ण, रामनरेश राय, लालबहादुर राउत र सर्वेन्द्रनाथ शुक्ल रहेको चार सदस्यीय वार्ताटोली गठन गरेपछि पहिलोपटक १७ असोजमा वार्ता भएको थियो ।

त्यसअघि एकपटक पनि वार्ता भएन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख तीन दलले वार्ताका लागि महेश आचार्य, अग्नि खरेल र नारायणकाजी श्रेष्ठ रहेको तीन सदस्य वार्ताटोली बनाएका थिए ।

उक्त टोलीले मोर्चासँग जम्माजम्मी तीनपटक वार्ता गरेको थियो । २४ असोजमा प्रधानमन्त्रीमा एमाले अधयक्ष केपी शर्मा ओली निर्वाचित भएपछि कात्तिक पहिलो हप्ता उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा सरकारी वार्ताटोली गठन भएको थियो ।

थापा नेतृत्वको वार्ता टोली र मोर्चाबीच १५ कात्तिकमा संघीय समाजवादी फोरमको कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा मोर्चाले ११ बुँदे माग प्रस्तुत गरेको थियो ।

‘हामीले ११ बुँदे माग राखेपछि कमल थापाले सीमांकनदेखि सबै विषयमा खुला छलफल गर्न तयार छौँ भन्नुभएको थियो र प्रतिपक्षसँग पनि कुरा गरेर अर्को वार्ता गर्ने सहमति भएको थियो,’ वार्तामा सहभागी मोर्चाका नेता रामनरेश रायले भने ।

तर, १६ कात्तिक बिहानै वीरगन्जमा प्रहरी र आन्दोलनकारीबीच झडप भयो र वार्ता भाँडियो । झडपमा एकजना भारतीय नागरिक मारिएका थिए ।

मोर्चाले राखेका ११ बुँदे मागबारे अहिलेसम्म गम्भीरतापूर्वक छलफलसमेत भएको छैन । ११ बुँदेमध्ये कतिपय माग अनावश्यक रहेको टिप्पणी भइरहेको छ, तर त्यसबारे प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले धारणा सार्वजनिक गरेका छैनन् ।

मोर्चाले हरेक वार्तामा आफ्ना मागबारे साझा धारणा ल्याउन प्रमुख दललाई आग्रह गर्ने गरेको, तर विनातयारी वार्तामा आउने गरेको मोर्चाका संयोजक महन्थ ठाकुर बताउँछन् ।

‘अहिलेसम्म जति पनि वार्ता भएका छन्, त्यसमा माग सम्बोधन गर्न तयार छौँ मात्रै भन्नुहुन्छ, तर कसरी सम्बोधन गर्ने, अहिलेसम्म उपाय ल्याउनुभएको छैन,’ ठाकुरले भने । उनका अनुसार सरकारी टोलीको तयारी नहुँदा वार्ता निष्कर्षविहीन बन्ने गरेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया