Inaruwa
पुष ९ इनरुवा ।
मुलुकको संविधानका बारे जानकारी गराउने उद्येश्यका साथ आयोजित संविधान विशेष कार्यक्रममा उल्लेख्य मात्रामा सर्वसाधारणले सहभागिता जनाएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज आयोजना गरिएको नेपालको संविधान जनताको माझ कार्यक्रममा नगरवासीका साथै आसपासका भेगबाट उल्लेख्य सर्वसाधारणले सहभागिता जनाएका हुन् ।

जिल्ला विकास समिति र इनरुवा नगरपालिकाको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको जनताका माझ संविधान कार्यक्रम मार्फत संविधानमा उल्लेखित व्यवस्था लगायतका बारेमा जानकारी गराइएको थियो ।

संविधानमा निर्दिष्ट गरिएका कुराहरु जनताबाट समेटिएका सुझावहरुकै आधारमा तयार पारिएकाले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको भन्दै कार्यान्वयनमा सवै निकायको साथ र सहयोगमा जोड दिइएको थियो ।

संविधान बारेको जानकारी मूलक कार्यक्रममा महिलाहरुको उपस्थिती बाक्लो देखिएको थियो । सहभागि महिला लगायत उपस्थित सर्वसाधारणले संविधानका विविध पक्ष्यका बारेमा खुलेर बहस गरेका थिए ।
भूमि सुधार व्यवस्था मंत्री रामकुमार सुब्बाको उपस्थितीकावीच सरोकारवालाहरुले संविधानको विषयमा सर्वसाधारणमा रहेका भ्रमहरु चिर्ने प्रयास गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गदै मंत्री सुब्बाले असन्तुष्ट पक्ष्यलाई वार्ताका माध्यमबाट सहमतिमा ल्याउने जोडदार पहल भैरहेको बताउनुभयो ।

नाकाबन्दी र तराइ मधेशमा जारी आन्दोलनलाई सरकारले गम्भिरताका साथ लिएको स्पष्ट पार्दै मंत्री सुब्बाले अब केहि दिन भित्रमा मुलुकले निकासको बाटो पहिल्याउने विश्वास व्यक्त गर्नुभयो ।

सदरमुकाम केन्द्रित आन्दोलन गर्दै आएको मधेशी मोर्चाको संभावित अवरोधलाई मध्यनजर गर्दै कार्यक्रम स्थल सहित वरपरको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।
कार्यक्रम चलिरहँदा मोर्चा कार्यकर्ताहरुले कार्यक्रम स्थल बाहिर कालो झण्डा सहित प्रर्दशन गरेका थिए । सरकारी विरोधी नाराबाजी गरेका मोर्चा कार्यकर्ताहरुले मधेशीहरुको हकअधिकार कुण्डित गरी जारी भएको संविधान सर्वमान्य हुन नसक्ने भन्दै असन्तुष्टि जनाएका थिए ।

तपाईको प्रतिक्रिया