nepal-china-पुष १० काठमाडौं– चिनियाँ उपराष्ट्रपति ली युआन छाले नेपालमा इन्धन ढुवानी गर्दा देखिएका समस्या समाधान गरेर दीर्घकालीन रूपमा इन्धन पठाउन सकिने बताएका छन् । ६ दिने चीन भ्रमण रहेका उपप्रधानमन्त्री कमल थापासँग ग्रेट हल अफ पिपुलमा भएको भेटमा उनले तत्कालका लागि भन्दा पनि दीर्घकालमा पूर्वाधार बनाएर ढुवानी गर्न सकिने बताएका हुन् ।

इन्धन खरिद सम्झौता नहुने चीनबाट तेल ल्याउने विषयमा धेरै चर्चा चले पनि तत्काल इन्धन खरिद सम्झौता नहुने भएको छ । यसअघि तेल ल्याउन भन्दै आपूर्तिमन्त्री गणेशमान पुनसहितका तीनवटा टोलीले चीनको भ्रमण गरेको थियो । तर, उपलब्धि केही भएको छैन । उपप्रधानमन्त्री थापाको भ्रमणमा पनि दुई देशबीच इन्धन खरिद सम्झौता नहुने भएको छ ।

चीनसँग पारवहन सन्धिको पनि सम्भावना छैन नेपाल र चीनबीच पारवहन सन्धि हुने सम्भावना निकै कम छ । उपप्रधानमन्त्री कमल थापाको भ्रमणमा पारवहन सन्धिलाई एउटा एजेन्डा भएको बताइए पनि त्यसको सम्भावना कम रहेको दूतावासका एक अधिकारीले बताए । ‘निकट भविष्यमा सन्धि गर्ने निचोडमा यो भ्रमण पुग्छ,’ ती अधिकारीले भने ।

थापाले के–के प्रस्ताव राख्दै छन् ?  उपप्रधानमन्त्री थापाले शुक्रबार आफ्ना समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै छन् । सो अवसरमा उनले चीनबाट इन्धन आयातमा भण्डारणको समस्या मुख्य भएकाले त्यसलाई सम्बोधन गर्न प्रस्ताव गर्ने भएका छन् । नेपालले केरुङमा इन्धन भण्डारणका लागि संरचना निर्माण गरिदिन चीनसँग आग्रह गर्नेछ । थापाले भूकम्पले आवागमनमा अवरोध पुर्‍याएको तातोपानी नाका खोल्न चीनलाई आग्रह गर्नेछन् भने रसुवाको टिमुरेको स्तरोन्नति, सुक्खा बन्दरगाह निर्माणलगायतका विषयमा छलफल हुनेछ ।

दीर्घकालीन मित्रता कायम राख्न चाहेका छौँ : विदेश मन्त्रालयका प्रवक्ता चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लईले उपप्रधानमन्त्री थापाको भ्रमणमा नेपाल र चीनबीच आगामी वर्षको द्विपक्षीय योजनाको विषयमा छलफल हुने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले नेपाल र चीनबीच आपसी हितको विषय, व्यावहारिक सहकार्यका विषयमा भ्रमण केन्द्रित हुने जानकारी दिए । उनले नेपालसँग बृहत्तर सहकार्यमार्फत दीर्घकालीन मित्रता कायम राख्न चाहेकोसमेत बताए ।नयाँपत्रिका दैनिक बाट 

 

तपाईको प्रतिक्रिया