udhauli parv

पुस १० काठमाडौं– किराँत समुदायले शुक्रबार आफ्नो महान पर्व उधौली मनाउँदैछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुंगी लेकबाट बेसीतिर बसाईं सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् ।यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत जातिको महान्पर्व उधौलीको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।    उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउनुका साथै सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले किराँत जातिको यस महान्पर्व मनाउन जसरी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरी समृद्ध राष्ट्रनिर्माणमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उधौलीको अवसरमा शुभकामना व्यक्त गर्दै मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निम्ती एकताबध्द भएर अघि बढ्न उधौली पर्वले सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया