Kp-Oli-2पुष १२ काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको तयारीअनुरूप भएको खुलेको छ ।

अहिले नै तयार भएका कतिपय विषय छलफलका रूपमा राख्दै आगामी वर्ष (सन् २०१६) को सुरुवातमा नै हुने सरकार प्रमुखस्तरको भ्रमणका क्रममा सम्झौता गर्ने भनिएपछि यो खुलासा भएको हो । तर २०१६ को कुन महिनामा प्रधानमन्त्रीस्तरको भ्रमण हुने स्पष्ट पारिएको छैन ।

चीनले नेपालसँगको सम्झौता नेपालको राजनीतिक सहमतिमा गर्न खोजेका कारण नहतारिएको पनि अधिकारीहरूले बताए । अहिलेको अवस्थामा नेपालमा राजनीतिक सहमति नभएकोप्रति लक्षित गर्दै चिनियाँ नेता र अधिकारीले कार्यकारीस्तरमा कतिपय सम्झौता गर्न सकिने परराष्ट्रमन्त्री थापालाई बताएका छन् ।

थापाकै भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) लगायतका सम्झौता गर्ने तयारी नेपालको थियो ।

तर चीनले यसमा थप अध्ययन गर्ने र दीर्घकालीन हितमा उपयोगी बनाउने भनेपछि नेपालले आस गरेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौतामा हस्ताक्षर हुन सकेन । ती सम्झौता गर्ने कुरामा दुवै देशबीच राजनीतिक तहमा सहमति जुटेको छ ।

चीनले यो विषयलाई कार्यकारीस्तरमा नै टुंग्याउन लागेकाले अहिले सम्झौता नभएको एक अधिकारीले बताए । आजको कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया