morcha-government-talks1

काठमाडौँ, पुस १६ ।  अघिल्लो शनिबार विराटनगरस्थित जोगबनी नाकामा प्रहरीसँगको झडपमा सद्भावना पार्टीका अध्यक्ष तथा मोर्चाका नेता राजेन्द्र महतो घाइते भएपछि मोर्चाका नेताले वार्तालाई चासो दिएका छैनन् । यस्तोमा बढी जिम्मेवार हुनुपर्ने सरकारले समेत मोर्चालाई औपचारिक रूपमा वार्ताका लागि आह्वान गरेको छैन ।

सरकार, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच २७ मंसिरयता वार्ता भएको छैन । ६ पुसमा सरकारी वार्ताटोलीले मोर्चाको वार्ताटोलीलाई मधेस समस्या समाधानका विषयमा मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको प्रति बुझाएको थियो । मोर्चाका नेता मनीष सुमनले भने, ‘२७ मंसिरयता सरकारसँग वार्ता भएको छैन । सरकारी उदासीनताले वार्ता प्रक्रिया रोकिएको छ ।’

अझै केही दिन वार्ता हुने छाँटकाँट देखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा पुगेका छन् । उनी बिहीबार साँझ मात्र काठमाडौं फर्कने कार्यक्रम छ । कांग्रेस सभापति सुशील कोइराला पनि बुधबारै पार्टी कार्यक्रममा भाग लिन स्याङ्जा गएका छन् ।यता, मधेसी मोर्चाका नेता उपेन्द्र यादव २० गतेभन्दा अगाडि काठमाडौं नआउने भन्दै मधेस गइसकेका छन् । ‘मोर्चाका नेता राजेन्द्र महतोमाथिको आक्रमणले वार्ताको सम्भावनालाई समाप्त पारेको छ,’ सुमनले नयाँ पत्रिकासँग भने, ‘घटनाबारे सरकारले माफी नमागेसम्म र छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति नबनाएसम्म वार्ता हुँदैन ।’आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया