aaha-gold-cup

१९ पुस, पोखरा । पोखराको सहारा क्लवले आयोजना गर्ने आहा रारा गोल्डकपको १४ औं संस्करणमा ३ विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ यहि माघ ५ गतेदेखी १६ गतेसम्म प्रतियोगीता आयोजना हुँदैछ ।

प्रतियोगीतामा सहभागी हुन छिमेकी देश भारत, भुटान र बंगलादेशमा पत्रचार गरिएको पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइयो । प्रतियोगितामा विभागीय क्लवहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्रको एपीएफ क्लवले प्रतिस्पर्धा गर्नेछन् । यस्तै नेपालका ए डिभिजन क्लवहरु रुस्लान थ्रीस्टार क्लव, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लव, नव जनजागृति युवा क्लव सिमरा, रमपम झापा ११, आयोजक सहारा क्लव पोखरा र जावलाखेल युथ क्लवले पनि भाग लिने क्लवका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए ।

आयोजक सहारा क्लवले प्रतियोगिताको तयारी तिव्र पारिएको जनाएको छ । विदेशी टिमको टुंगो केही दिनमै लगाउने भन्दै आचार्यले प्रतियोगिताबाट करीब २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको उल्लेख गरे । प्रतियोगितामा ९९ लाख ९२ हजार रुपैयाँ कुल संकलन गरेर ७९ लाख ६२ हजार ३ सय रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको प्रतियोगिता संयोजक केशबहादुर थापाले बताए । उनका अनुसार बचत रकम क्लवद्धारा संचालित सहारा एकेडेमीमा रहेका कठिन परिस्थिति एवम् विपन्न वर्गका १६ जिल्लाका २६ जना बालबालिकाको भरणपोषण र शिक्षामा खर्च गरिनेछ ।

 

तपाईको प्रतिक्रिया