इनरुवा २३ पुष/
जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराउँदै आएको इन्धन कुपनको दुरुपयोग हुने गरेको फेला परेको छ ।
प्रशासन कार्यालयले सर्वसाधारणका लागि उपलब्ध गराउँदै आएको डिजलको कुपनको दुरुपयोग हुने गरेको पाइएको हो । नागरिकता, लालपुर्जा जस्ता कागजी प्रमाण पेश गरेको आधारमा प्रशासन कार्यालयले उपलब्ध गराउने डिजल कुपनको फोटोकपी प्रयोगमा ल्याउने गरेको पाइएको हो ।
प्रशासन कार्यालयले प्रत्येक किसानलाई उसले बुझाएको काजगी प्रमाणका आधारमा १० लिटरको डिजल कुपन दिने गरेको छ । केहि गलत नियत भएका व्यक्तिहरुले प्रशासनबाट लिएको कुपनको फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको खुलाषा भएको हो । सुनसरी पेट्रोल पम्पबाट पटक पटक एकै व्यक्तिले डिजल जाने गरेपछि शंकाका आधारमा खोजतलास गर्ने क्रममा डिजल कुपनको फोटोकपी फेला परेपछि इन्धन तस्करी बारेको नयाँ खुलाषा हुन पुगेको हो ।
पम्पमा ८४ रुपैंयामा उपलब्ध हुने डिजल बजारमा भने एक सय बिस रुपैंयाको हाराहारीमा विक्रि हुने गरेको छ । दश पटक भन्दा बढी फोटोेकपी कुपन प्रयोगमा ल्याई एक सय लिटर भन्दा बढी डिजल संकलन गरेका व्यक्ति पछिल्लो पटक इन्धन लिने क्रममा फेला परेपनि उनि उम्कन सफल भएका थिए । पम्प संचालक लगायतकाले कुपन दुरुपयोग गर्ने व्यक्ति माथि शंकालागि सोधपुछ थालेपछि सम्वन्धित व्यक्ति फरार भएको बताइएको छ ।
कुपन दुरुपयोगको घटना फेला परेपछि यसअघि समेत पटक पटक त्यस्तो गैरकानुनी कार्य भएको हुन सक्ने अनुमान गरिएको छ । मिति उल्लेख नगरिएका र सम्वन्धित किसानको नाम नखुलाइएका कुपन समेत प्रशासन कर्मचारीले उपलब्ध गराउने गरेको स्रोतको दावी छ ।
उता सुनसरी प्रशासनले समेत कुपन दुरुपयोग हुने गरेको विषयलाई पुष्टि गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले पटक पटक गरी केहि व्यक्तिले डिजल कुपनको दुरुपयोग गरेको पाइएकाले संलग्न व्यक्तिको खोजी जारी रहेको बताए । प्रजिअ पन्थले दुरुपयोगको घटना सार्वजनिक भएपछि कुपन वितरणमा समेत कडाई गरिएको बताए । कर्मचारीले कुपन हिनामिना गरेको भन्ने विषय छानविन गरिने पन्थले बताए ।
प्रशासनबाट सर्वसाधारण किसानकालागि वितरण हुने डिजल कुपनमा भने एकरुपता आउन नसकेको सर्वसाधारणको गुनासो छ । पहुँच भएका र चिनजानका आधारमा कर्मचारीहरुले बढी मरिमाणका कुपन उपलब्ध गराउने गरेको स्थानीय किसानहरुको आरोप छ । कर्मचारीको मिलेमतोमा उपलब्ध गराइने कुपनका आधारमा प्राप्त डिजल कालोबजारीमा प्रयोगमा आउने गरेको जानकारहरुको दावी छ ।

तपाईको प्रतिक्रिया