- अमर काफ्ले

सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिकालागि दुई विभागीय टिम नेपाल पुलिस र आर्मी भिड्ने भएका छन् ।महेन्द्र चोकमा समपन्न पछिल्ला खेलमा जित निकाल्दै पुलिस र आर्मीले फाइनल यात्रा तय गरेका हुन् ।सेमीफाइनल अन्र्तगतको पहिलो खेलमा आर्मीले सोलुखुम्बुलाई पराजित गरेको थियो । सोझो सेटमा जीत निकालेको आर्मीले २५–१९, २५–१६ र २५–१४ को सेटमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।

त्यसैगरी दोस्रो सेमीफाइनलमा भिडेका दुई बिभागीय टोली नेपाल पुलिस र एपीएफको खेलमा नेपाल पुलिसले बाजी मारेको छ ।निकै नै प्रतिष्पर्धात्मक खेल वेस्ट अफ फाइबमा टुङ्गिएको थियो । सो खेलको पहिलो सेट पुलिसले २५–२३ को सेटमा जितेपनि दोस्रो सेट भने २५–२० ले गुमाएको थियो ।तेस्रो सेटमा पुनरागमन गरेको पुलिसले २५–२१ को स्कोरमा जीत निकाल्दा चौथो सेटमा भने एपीएफले उत्कृष्ट प्रर्दशन ग¥यो र खेलमा पुलिसलाई हाबी हुने मौका दिएन् । चौथो सेटमा एपीएफले पुलिसलाई २५–९ को स्कोरमा रोकेपनि निर्णायक तथा अन्तिम सेट गुमाउदा सेमीफाइनलबाट बाहिरिन पुग्यो ।

अन्तिम सेट राती ढिला भएका कारण १५ स्कोरलाई जीतको आधार मानी खेलाइएको थियो । प्रतिष्पर्धात्मक उक्त सेट पुलिसले १५–१३ ले जित्दै फाइनलमा आर्मीसँगको भेट पक्का गर्न सफल भयो । तीन बिभागीय सहित ८ टिम सहभागि प्रतियोगिताको बिजेताले १ लाख ५० हजार तथा उपबिजेताले ७५ हजार पुरस्कार पाउने आयोजक शान्तिदीप नेपालका अध्यक्ष सुबास राईले जानकारी दिए ।  प्रतियोगितालाई शान्तिदीप र इनरुवा नगरपालिकाले संयुक्त रुपमा संचालनमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया