- अमर काफ्ले

सुनसरी प्रशासनले मुस्लिम समुदायलाई लक डाउनको ख्याल गरी रमजान पर्व मनाउन आग्रह गरेको छ ।  सकेसम्म मुस्लिम धर्मावलम्बीहरुलाई घरमै बसेर रमजान पर्वमा गरिने धार्मिक कार्यहरु गर्न भनिएको छ ।


प्रशासनले कोरोना भाइरसको बढ्दो जोखिमका कारण सावधानी अपनाउनु पर्ने भएकाले समेत भिडभाड नहुने गरी धार्मिक तथा सांस्कृतिक कार्य गर्न भनेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सुचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीद्धारा जारी प्रेस विज्ञप्तीमा लक डाउनको पालनासँगै स्वयं सचेत र सर्तक रही रोग विरुद्धको सावधानी अपनाउन भनिएको छ ।प्रशासनले जारी गरेको विज्ञप्तीमा मस्जिदमा गरिने धार्मिक कार्य गर्दा, गराउँदा अत्यावश्यक बाहेकका मानिस भेला नहुन भनिएको छ । अत्यावश्यक अवस्थामा सामाजिक दुरी कायम गरी धार्मिक कार्य गर्ने वातावरण मिलाउन भनिएको छ ।


त्यसैगरी प्रशासनले नमाजमा ५ जना भन्दा बढी सहभागी हुन नपाउने समेत भनेको छ । उसले सामूहिक भोज (अफ्तर पार्टी) को आयोजना गर्न नपाइनुका साथै एतकाफ अर्थात विशेष पुजाका क्रममा गाउँको कुनै दुई जना व्यक्ति मात्र बस्न पाउने व्यवस्था मिलाइनु पर्ने भनेको छ । संक्रमण देखिएका स्थानबाट आएकाहरुलाई मस्जिदमा प्रवेश नदिने र त्यसको बारे प्रशासनलाई जानकारी गराउन विज्ञप्तीमा अनुरोध गरिएको छ । रोगबाट बच्न र बचाउन सरसफाई सहितका सावधानीका उपाय अपनाउन समेत प्रशासनले आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको संयोजकत्वमा प्रशासन कार्यालयमा बसेको मुस्लिम आयोगबाट गठित जिल्ला स्तरको अनुगमन समितिका संयोजक तथा पदाधिकारी, सुरक्षा निकाय, ईस्लाम धर्मगुरुहरु र मुस्लिम अगुवा सहित सरोकारवालाहरु सम्मिलित बैठकले रमराज पर्व मनाउने सम्वन्धमा निर्णय गरेको नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश सचिब नइम अन्सारीले बताए ।जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्णय कार्यान्वयन गराउने जिम्मेबारी मुस्लिम अगुवाहरुलाई सुम्पिएको जनाएको छ । जसको सरोकारवाला पक्ष सहितको उपस्थितीमा अनुगमन समेत गरिने छ ।मस्जिदको ईमाम (नमाज पढाउने) र मस्जिद संचालक समिति अध्यक्षको जिम्मेबारीमा लक डाउनको पूर्ण पालना गराउँदै पर्व मनाउने व्यवस्था मिलाउन प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया