काठमाडौ । बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । भारतमा लकडाउनमा केही खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली स्वदेश आउने क्रम तीव्र रूपमा बढेको छ । यसैक्रममा बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । स्वदेश प्रवेश गर्ने नेपालीले भारतीय क्वारेन्टाइनमा २५ दिन पूरा गरेका छन् । स्वदेश भित्रिएकामध्ये सिद्धार्थ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा दुई सय ७० र तिलोत्तमा नगरपालिकाका क्वारेन्टाइनमा दुई सय ३३ जनालाई राखिएको छ । बेलहिया नाकामा दैनिक सयौँ नेपाली आउने गरेका छन् ।

अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिएका छन् । स्थानीय तहहरूसँग समन्वय गरेर प्रवासी नेपालीलाई प्रवेश गराइने भएको छ । स्थानीय प्रशासनले प्रक्रिया पूरा गरेर बुधबार करिब एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको थियो । तर, क्वारेन्टाइन अभावमा पाँच सयलाई मात्र प्रवेश गराइएको हो । तीन दिनअघि रुपन्देहीका सबै स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा भारतबाट आएका प्रवासी नेपालीलाई ल्याएर राख्ने सहमति भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले सीमानाकाबाट नेपाली ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताए । ‘सबै तयारी सकिएको थियो, अन्तिममा क्वारेन्टाइन अभाव भयो, थप क्वारेन्टाइन व्यवस्थापन गरेपछि दुई–तीन दिनभित्र ल्याइनेछ,’ उनले भने । रुपन्देहीमा बुधबारदेखि सुरक्षामा थप कडाइ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा सहज रूपमा आवतजावतमा रोक लगाइएको छ । अन्य दिन विभिन्न काममा हिँड्ने गरिए पनि बुधबार भने पूर्ण रूपमा कडाइ गरिएको थियो । नयाँ पत्रिका दैनिकले समाचार लेखेकाे छ ।









तपाईको प्रतिक्रिया