इनरुवा। करिब दुई महिना लामो लकडाउनको चपेटामा देश थला परिसकेको अवस्था छ। कोरोना भाइरस माहामरिको त्रासले गर्दा दैनिक जनजिवन निकै नै कष्टकर बनेको छ। दैनिक जिवनयापन संगै कृषि, साना तथा ठुला औधोग कलकारखाना समेत धरापमा परेको छ। लकडाउनका कारणले गर्दा देशको अर्थतन्त्रमा समेत ठुलो धक्का लाग्ने निश्चित नै छ। देशको मुख्य पेश कृषि क्षेत्रलाई अपनाएर जिवन निर्वाह गरिरहेका सबै कृषकहरुलाई अहिले देश लकडाउनको कारण कृषि क्षेत्रबाट पलायन हुने अवस्था सृजना भएको छ । कृषि क्षेत्रबाट पलायन हुने सम्भावना बोकेको एउटा नाम हो रामचन्द्र महतो। इनरुवा नगरपालिका वडा नम्बर ८ निवासी रामचन्द्र महतो २०६७ सालमा ५० हजारको लगानी लागाएर सुरु गरेको फर्म २०७३ सालमा सुमन कृषि फर्म नाम दर्ता गरि च्याउ उत्पादन गर्दै आएका थिए । क्षेत्रिय कृषि तालिम केन्द्र झुम्कामा च्याउ खेति सम्बन्धि तालिम लिए पश्चात च्याउ उत्पादनमा थप बृद्धि भएको महतोले बताए ।

१५ कठ्ठा जग्गा लिजमा र ५ कठ्ठा जग्गा आफ्नो गरि १ बिगाह क्षेत्रफल रहेको जग्गामा १५ वटा टहरा निर्माण गरि २५ हजार सिलिण्डर राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना च्याउ पकेट कार्यक्रम अन्र्तगत रहेर दैनिक च्याउ उत्पादन गर्दै आएको महतोले बताए । दैनिक २ देखी ३ क्वीन्टल सम्म च्याउ उत्पादन गरेर इनरुवा, झुम्का, इटहरी, धरान, विराटनगर र गाईघाटसम्म पुर्याउदै आएका थिए । लकडाउनको समयमा उत्पादन भएको च्याउ बजारसम्म पुर्याउन नसकिदाँ गाउँघरमै बाडेको र बाकि तेतिकै नष्ट भएको गुनासो गर्छन । एकलट लगाएको च्याउमा तिन पटक सम्म उत्पादन हुने गर्दछ । यस पटक लगाएको च्याउ पहिलो चोटिको उत्पादन हुन नपाउदै देशमा लकडाउन सुरु भयो र उत्पादन भएको च्याउ बजारसम्म पुर्याउन नसकिदाँ लगाएको लगानी निकाल्न सकिएन । जसले गदाँ अब च्याउ खेति गर्न लगानीको खाँचो पर्छ र लिएको ऋण तिर्न थप चुनौति बढेको कृषक रामचन्द्र महतोले बताए।राष्ट्रिय बाणिज्य बैंकबाट १३ लाख, ग्लोबल आइएमई लि.बैंकबाट ६ लाख, लघुवित्त र आफ्नो गरि जम्मा ३२ लाखको लगानी लगाएर सुमन कृषि फर्म संचालनमा रहेको बताउनु भयो । च्याउ खेति गरेर घरपरिवार पालपोषण गर्दै आएको र दैनिकी ज्यालादारीमा हामी संग कामगर्दै आएका ८ जना कर्मचारी समेत बेरोजगार भएको महतो बताउछन ।

कृषि मै आत्मनिर्भर भएका कृषक अबको समयमा कसरी कृषि क्षेत्रलाई अगाडी बढाउने भन्ने चिन्ता बढेको छ । लिएको ऋण तिर्ने कि आफ्नो घरपरिवार चलाउने वा कृषिमा लगानी लगाउँन रकम कहाँबाट ल्याउने भन्दै चुनौती थपिएको छ । यसमा नेपाल सरकार र कृषि क्षेत्रमा लागेका प्रबुद्ध व्यक्तिले बिचार गर्नुपर्ने आवश्यकता देखिएको छ । लकडाउनको यातनाले गर्दा एका तिर वर्षौ देखि अंगालिएर आएको पेशा र व्यवशाय संकटमा भएको प्रष्ट देख्नसकिन्छ भने अर्को तिर ति पेशा र व्यवशाय संचालनार्थ लिइएको ऋणको भारिले पक्कै पनि विश्राम लिने छैन तसर्थ समयमा नै राज्यले कृषि, साना तथा ठुला औधोग कलकारखानालाई तत्कालकालागि आहतबाट विश्राम हुने किसिमको योजनाहरु अगाडि सार्नु पर्ने आवश्यक देखिन्छ।










तपाईको प्रतिक्रिया