- अमर काफ्ले

इनरुवा। सशस्त्र प्रहरीका हबल्दारमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी कार्यरत युनिट रहेको आसपासको क्षेत्र सिल गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हाता भित्र रहेको सशस्त्र प्रहरीको युनिटमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित पाइएपछि बराहक्षेत्र नगरपालिकाको १० र ११ नम्बर वडा सिल गरिएको हो । सशस्त्रको युनिट वडा नम्बर ११ मा पर्छ भने सुरक्षाकर्मीको आउजाउ र ड्युटी क्षेत्रलाई आधार मानी छिमेकी १० नम्बर वडा समेतलाई सिल गरिएको वडा अध्यक्ष केदार विष्टले बताए । नगरपालिकाको कार्यालयले समेत दुई वडा सिल गरिएको विषयमा विज्ञप्ती निकालेर सर्वसाधारणमा जानकारी गराएको छ । नगरपालिकाले मधुवनको सबै र प्रकाशपुरको आशिंक भाग सिल गरिएको जनाएको छ । संक्रमित सुरक्षाकर्मी कोसी प्रोजेक्ट अन्र्तगत खटिने भारतीय कर्मचारीहरुको सुरक्षार्थ स्थापना गरिएको युनिटमा कार्यरत थिए । उक्त युनिटमा रहेका १४ जनाको स्वाब संकलन गरिएको छ । त्यसैगरी प्रकाशपुर ससुरालीमा रहेका सासु र ससुराको समेत स्वाब संकलन गरी परीक्षणकालागि पठाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कतै सिल त कतै लक डाउनमा कडाई

Gepostet von Inaruwa Online am Mittwoch, 20. Mai 2020

गढीको भमरी बजार समेत सिल
त्यसैगरी गढी गाउँपालिकामा एक पुरुषमा संक्रमण पुष्टि भएपछि भमरी बजार क्षेत्र सिल गरिएको छ । भारतबाट आई क्वारेन्टाइनमा बसेका पुरुष कोरोना संक्रमित पाइएका थिए । संक्रमित पुरुषसँगै आई क्वारेन्टाइनमा रहेका अन्य ४ जनाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले सावधानीका सबै उपाय अवलम्बन गरिएको बताए । क्वारेन्टाइनमा रहँदै संक्रमण पुष्टि भएकाले आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए । यद्यपी क्वारेन्टाइन स्थल आसपास सहितको क्षेत्र तत्कालका लागि भने सिल गरिएको उनले बताए । यसैबिच गाउँपालिका भित्र संचालनमा रहेको सीजी उद्योग संचालनमा सरकारी मापदण्ड लागु गर्न भनिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानी र पूर्व तयारीका विधिहरु अपनाउन गाउँपालिकाको कार्यालयले उद्योग प्रशासन समक्ष आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले कामदारको भिडभाड र आउजाउलाई व्यवस्थापन गर्न उद्योग प्रशासनलाई निर्देशन दिइएको बताए । गाउँपालिकाले उद्योगमा काम गर्ने कामदारहरुलाई उद्योग भित्रै राखेर स्वास्थ्य जाँच गराई काममा लगाउन भनेको छ ।

इटहरीमा स्वाब संकलन गरिदै
इटहरी नगरपालिकाको वडा नम्बर २ का एक युवामा संक्रमण पुष्टि भएपछि यतिबेला वडा नम्बर २ र ३ पूर्ण रुपमा सिल गरिएको छ । नगर स्तरीय सुरक्षा समितिको बैठकले हिजोनै वडा सिलका साथै नगरपालिका भर ५ दिन सबै थोक ठप्प र बन्द रहने निर्णय गरेको थियो । सोही अनुरुप सो क्षेत्रमा कडाई सँग कन्ट्याक ट्रेसिङ सँगै स्वाब संकलनको क्रमलाई तिव्रता दिइएको छ । इटहरीका संक्रमितसँग कन्ट्याक ट्रेसिङका आधारमा तत्काल १९ जनाको स्वाब संकलन भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित युवा मलामी समेत गएको खुल्न आएको छ ।

लक डाउनमा कडाई
छिमेकी पालिकामा कोरोना संक्रमण देखिएपछि आसपासका स्थानीय तहले समेत लक डाउनमा कडाई गर्न थालेका छन् । बराहक्षेत्र नगरपालिकासँग जोडिएको कोशी गाउँपालिकासँगै गढी गाउँपालिका सँग जोडिएको इनरुवा नगरपालिकामा कडाई थालिएको सम्वन्धित कार्यालयहरुले जनाएका छन् । सुनसरीमा अहिले सम्म ३ जना कोरोना संक्रमित भेटिएका छन् । भक्तपुरमा संक्रमणको पुष्टि भएकी झुम्काकी महिलासँगको कन्ट्याक ट्रेसिङका आधारमा गरिएको पीसीआरमा सबै २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार पास बनाउन प्रशासन पुगेकाले त्यस कार्यालयका समेत ९ जना कर्मचारीको स्वाब संकलन गरिएको थियो । जसमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।








तपाईको प्रतिक्रिया