- अमर काफ्ले

इनरुवा। प्रदेश सरकारले सुनसरीबाट स्वस्थ जीवन कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । एक नम्बर प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयले प्रदेशवासीका हकमा स्वस्थ जीवन जिउन उत्प्रेरणा जगाउने उद्येश्यसाथ स्वस्थ जीवन कार्यक्रम संचालनमा ल्याएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणको मुलभुत उद्येश्य कार्यान्वयमा स्वास्थ्य निर्देशनालय धनकुटा र प्रदेश सरकारले उक्त कार्यक्रम संचालनमा ल्याएको हो ।

प्रदेश नम्बर १ को हकमा पहिलो चरणमा कोरोना संक्रमण देखिएका उदयपुर, झापा, धनकुटा, मोरङ, सुनसरी र जोखिमका आधारमा इलामलाई समेत समेटेर कार्यक्रम संचालनमा ल्याइएको स्वास्थ्य अभियन्ता निर्मल बरालले जानकारी दिनुभयो । सुनसरीको इनरुवामा रहेको जिल्ला समन्वय समितिको कार्यालयबाट औपचारिक सुरुवात गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई स्थानीय तहसँग समन्वय गरी वडातह सम्म पुर्याइने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताउनु भयो ।

औपचारिक कार्यक्रममा उपस्थित सामाजिक बिकास मंत्री जिवन घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । मंत्री घिमिरेले कोरोना सँग लड्न दिनचर्या सँगै बानी र व्यवहार बदल्न आवश्यक रहेको तर्फ जोड दिँदै स्वस्थ बन्ने दृढ संकल्पका साथ अघि बढ्न आवश्यक रहेको धारणा राख्नु भयो । वहाँले स्वस्थ जीवन कार्यक्रमले कोरोनासँग जिउन सिकाउने भएकाले समेत सबैकालागि आवश्यक रहेको बताउनु भयो । मंत्री घिमिरेका अनुसार उक्त कार्यक्रम क्रमशः प्रदेश भरका सबै जिल्लामा लागु गरिने गरिने छ । मंत्री घिमिरेले प्रदेश नम्बर एकमा अन्य प्रदेशको दाँजोमा बढी मात्रामा कोरोना परीक्षण भैरहेको समेत स्पष्ट पार्नु भयो ।








तपाईको प्रतिक्रिया