- अमर काफ्ले

सुनसरीको भाण्टाबारीमा डिएसपी बिनोद शर्मा बिरुद्ध पत्रकार सम्मेलनको आयोजना गरिएको छ । निर्दोष व्यक्तिलाई हतियार र लागुऔषध राखेर फसाएको भन्दै सुनसरीको कोशी गाउँपालिकाका जनप्रतिनिधिले प्रहरी विरुद्ध पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

भाण्टाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्ष विन्देश्वर यादव सहितका स्थानीय अगुवाहरुले कृश भनिने कृष्ण कुमार यादवलाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका हुन् ।पत्रकार सम्मेलनमा बोल्नेहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भाण्टाबारी बजार पुगेको डिएसपी बिनोद शर्मा नेतृत्वको टोलीले कृशलाई पक्राउ गरी लगेकोमा भोक्राहा खण्डमा पुगी हतियार र लागुऔषध गाडीमा राखी मुचुल्का बनाएको आरोप लगाए ।जनप्रतिनिधि सहितको उपस्थितीमा कृशलाई नियन्त्रणमा लिइरहँदा प्रहरीले आफुहरुमाथि देखाएको व्यवहार समेत खेदजनक रहेको उनीहरुको भनाई थियो ।पक्राउ गर्दैगर्दा गाडी सर्च गरिएको र पानीका बोतल बाहेक केहि नभेटेको अवस्थामा कृश र उनका चालकलाई नियन्त्रमा लिइ लगेकोमा भोक्राहामा गाडी रोकी हतियार र लागुऔषध भेटिएको भनि गरिएको मुचुल्का प्रकृया बनावटी र सुनियोजित भएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी तथा नेता अजय कुशियतले प्रहरीको व्यवहार र शैली शंकास्पद र सुनियोजित देखिएकाले निस्पक्ष छानबिनकालागि राष्ट्रिय मानव अधिकार सम्म गुहारिने बताए । उनले उक्त घटनाको निष्पक्ष छानविन हुनु पर्ने समेत बताए ।कुशियतले कृश सहित उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको भएपनि सप्तरीबाट सुनसरी तर्फ आउँदै गरेको सूचनाका आधारमा पूर्व पश्चिम राजमार्ग अन्र्तगत भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ को राजमार्गमा आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताउनुले समेत घटना सुनियोजित रहेको पुष्टि हुने बताए । कुशियतले भने, “प्रहरीले कृश र उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको सीसी क्यामेरा स्पष्ट देखिन्छ । नियत के हो स्पष्ट छ । ”सुनसरी प्रहरीले भने कृशको सम्वन्धमा कटुवा पेस्तोल र सोमा लाग्ने तीन राउण्ड गोली सहित लागुऔषध बरामद गरिएको जनाएको छ । प्रहरीले हातहतियार खरखजाना ऐन तथा लागु औषध नियन्त्रण ऐन बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको जनाएको छ ।सुनसरी प्रहरीले कृश नेपाल र भारतमा घटाइएका विभिन्न घटनामा संलग्नताका आधारमा मस्ट वान्टेडको सूचीमा रहेका व्यक्ति भएको बताएको छ । कृशलाई यसअघि समेत सुनसरी प्रहरीले दुई पटक पक्राउ गरेता पनि छाडेको थियो ।








तपाईको प्रतिक्रिया