जनकपुरधाम। आफ्नो पतिको दिर्घायुका लागि हिन्दू महिलाले मनाउने वट सावित्री पर्व यस वर्ष मिथिला क्षेत्रमा काेराेना महामारीकाे सन्त्रास र लकडाउनकी बीच मनाइँदै छ । विगतका वर्षहरूकाे तुलनामा सार्वजनिक स्थान वर-पीपलकाे बोटमुनि भीड़भाड़ कम देखिए पनि यतिबेला टोल-टोलमा वरको वृक्ष लगाएर महिलाहरु पूजापाठमा निमग्न देखिन्छन् । धनुषाका विभिन्न पालिका र वार्डहरुमा आज वरको रूख भएको स्थानमा व्रतालु महिलाहरू विधिविधानपूर्वक आआफ्नो पतिको दीर्घायुको कामना गर्दै पूजा पाठमा व्यस्त छन ।

यसपटक भने कोरोना महामारीलाई ध्यान दिँदै सार्वजनिक स्थानमा नमनाउन स्थानीय प्रशासनले नै अनुरोध गरेको छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेकोले यस जिल्लाका सम्पूर्ण हिन्दू महिलाहरुलाई यस वर्षको वट सावित्री पर्व घरमै बसेर सुरक्षित रुपले मनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले अपिल गरेको हो । कोरोना भाइरस संक्रमणसँग जुध्न अपनाइएको सामाजिक दूरी कायम राख्न पनि अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनलाई पालना गरि बट सावित्री पर्व सार्वजनिक स्थानहरुमा नगई आ-आफ्नो घरभित्रै मनाउन आग्रह गरेको हो ।

यस्ताे छ कथा

‘बरसाइत’ पर्वलाई सावित्री तथा सत्यवानको कथासँगै जोडिएको छ । सावित्रीलाई हिन्दू संस्कृतिमा ऐतिहासिक चरित्र मानिएको छ । सावित्रीको अर्थ वेद माता गायत्री र सरस्वती पनि हो । सावित्रीको जन्म समेत विशिष्ट परिस्थितिमा भएको थियो । उनको जन्मलाई लिएर ग्रन्थहरु मिथ वा कथा रचिएका पाइन्छन् । जसअनुसार- भद्र देशको राजा अश्वपतिका सन्तान थिएनन् । उनले सन्तान प्राप्तिका लागि मन्त्रोच्चारणका साथै प्रतिदिन १ लाख आहुति दिने गर्थे । १८ वर्षसम्म यो क्रम जारी रह्यो । त्यसपछि सावित्रीदेवी प्रकट भएर राजालाई आशीर्वाद दिइन्- ‘राजन, तपाईलाई एक तेजस्वी कन्या सन्तानको रुपमा प्राप्त हुनेछ ।’

यसरी सावित्रीदेवीको कृपाबाट जन्म लिएका कारण सो कन्याको नाम सावित्री नै राखियो ।सावित्री असाध्यै सुन्दर र गुणवान थिइन् । उनकाे विवाहका लागि योग्य दुलहा नपाएका कारण पिता एकदमै दुःखी थिए । उनले आफ्नी छोरी सावित्रीलाई आफै बेहुला खोज्न पठाए । सावित्री तपोवनमा गइन । त्यहाँ साल्व देशका राजा द्युमत्सेन पनि वास गर्थे । उनको राज्यमाथि अर्को राजा कब्जा गरिसकेका थिए । उनकै छोरा सत्यवानलाई देखेर सावित्रीले पतिको रुपमा स्वीकार गरिसकेकी थिइन् ।सत्यवान अल्पायु थिए । यद्यपि सत्यवान् वेदका ज्ञाता थिए । नारद मुनिले सावित्रीलाई भेटेर सत्यवानसँग बिहे नगर्न सल्लाह समेत दिए । पतिको मृत्युको दिन नजिकिएपछि सावित्रीले घोर तपस्या गरिन् ।तपस्याको तथा सतीत्वको शक्तिबाट सावित्रीले आफ्नो पतिलाई रक्षा गर्न सफल भइन् । सावित्रीकै कारण यो पर्वलाई आदर्श नारीत्वको प्रतीकको रुपमा स्वीकार गरियो । बरसाइत पर्वमा सत्यवान सावित्रीका साथै यमराजलाई पूजा गर्ने गरिन्छ । सावित्रीले यही व्रतको माध्यमले आफ्नो पतिलाई धर्मराजबाट जितेकी थिइन् । न्युज २४ (घनश्याम मिश्र) को सहयोगमा








तपाईको प्रतिक्रिया