७ माघ, मोरङ । केही दिनदेखि तनावगूस्त मोरङको रंगेलीमा बिहीबार हिंसात्मक झडप भएको छ । झडपमा परी दुई महिनासहित तीन जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

एमालेसम्वद्ध युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि रंगेलीमा तनाव सुरु भएको थियो । मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको थियो ।

बिहीबार कार्यक्रममा प्रधानमन्त्री त गएनन् । तर, एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएको कार्यक्रम पनि मोर्चाले विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई महिलाको मृत्यु भएको छ । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । उनको शव प्रहरीले कोशी अञ्चल अस्पतालमा पुर्‍याएको छ ।

डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका ५ जनालाई गोल्डेन अस्पताल पुर्‍याइएको थियो । उनीहरु मध्ये एकको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया