नयाँ दिल्ली। भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ। भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो। भारतीय सेनाका अनुसार भारत-चीन सीमास्थित गलवान घाटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो। दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना मुख्यालयले यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेको छ।

तर अहिलेसम्म चीनका कतिजना सैनिक मारिए या घाइते भए भन्‍ने केही पनि खुल्न सकेको छैन। यसबारेमा चिनियाँ अधिकारीले पनि कुनै जानकारी दिएका छैनन्। भारतीय सेना मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारी अहिले मामिला सुल्झाउन घटनास्थलमा बैठक गरिरहेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङले यस घटनाबारे प्रतिक्रिया दिँदै भारतीय सैनिकले सीमामा चिनियाँ सैनिकमाथि पहिले हमला गरेको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चिनिया विदेश मन्त्रालयले यस घटनाप्रति प्रतिक्रिया दिँदै भारतले एकतर्फी कुनै पनि कदम चाल्नु गलत हुने जनाएको छ। यसले स्थिती बिग्रन सक्ने चीनले चेतावनी दिएको छ। यस घटनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, तीनै सेना प्रमुख र विदेश मन्त्री एस जयशंकरसँग एक उच्चस्तरीय बैठक गरेका छन्। पछिल्ला केही दिनयता यस इलाकामा चिनिया सैनिक भारतीय सीमामा प्रवेश गरेकाले दुवै देशबीच तनाव बढेको जिकिर भारतले गर्दै आएको छ।











तपाईको प्रतिक्रिया