- अमर काफ्ले

लक डाउनको समय । खुकुलो बन्दै गएको परिवेश । अनि चपेटमा परेको दैनिकी । वर्तमान अवस्थाबाट माथि उक्सन खोज्नु यतिबेला सबैजसोको एकमात्र निर्विकल्प लक्ष हो भन्दा फरक नपर्ला ।


क्रमशः चलायमान बन्दो परिपेक्षमा सबैजसो आफु पायक बन्दोवस्ती र जोहोमा जुट्ने ध्याउन्नमा छन् । त्यसैले पनि हाम्रा वरपर कतिपय त्यस्ता काम ओझेल परेका छन् । जसलाई सामाजिक दायित्वका रुपमा हामी सबै मिलेर अघि बढाउन सक्छौं ।
यिनै यावत अवस्थालाई मध्यनजर गर्दै शान्तिदीप नेपाल टोलवस्ती सफाईसँगै सार्वजनिक सम्पत्ति र संरचनाको संरक्षण प्रति जागरुकताको भाव जगाउने कार्यमा जुटेको छ ।
संस्थामा आवद्ध युवाहरुले सडक पेटीको फोहोर सफा मात्रै गरेका छैनन् । उनीहरुले सडक किनारमा पलाएको झार सफाई गर्ने देखि चौतारो तथा अन्य सार्वजनिक सम्पत्ति र संरचना संरक्षणको सवालमा स्थानीयलाई जिम्मेबारी बोध गराउने जस्ता जनचेतना मूलक कार्यलाई अभियानका रुपमा अघि बढाएका छन् ।

 

शान्तिदीप नेपालका अध्यक्ष सुबास राईका अनुसार सखुवागाछी चोक हुँदै अदालत रोड सम्मको आसपास सहितको टोल वस्तीमा सडक पेटी सरसफाई सँगै सार्वजनिक सम्पत्ति प्रतिको जिम्मेबारी र त्यसको महत्वको बारेमा बोध गराइएकोछ।
सार्वजनिक सम्पत्ति र संरचनाको संरक्षण गर्नु सबै नागरिकको दायित्व भएकाले समेत सबैमा जिम्मेबारीपनाको भाव जगाउन शान्तिदीप अभियानमा जुटेको राईको भनाई छ ।
उनी भन्छन् , “सबै मिलेर अघि बढे असम्भव केही छैन् । त्यसैले सकेको काममा अरुको मुख नताकौं । सामाजिक कार्यमा जस नखोजी हातेमालो गरी बढौं । समृद्धिको खाका आफु र आफ्नो क्षेत्रबाटै कोरौं ।”

 

तस्विर : शान्तिदीप










तपाईको प्रतिक्रिया