- अमर काफ्ले

इनरुवा नगरपालिकाको कार्यालयले आयोजना गरेको छैठौं नगर सभा धेरै कुरामा पहिलो बनेको छ । कार्यपालिका बैठकमा सहज रुपमा सहमती जुट्नु मात्रै नभएर समयमै सभा आयोजना हुन सक्नु जस्ता विषय उसकालागि पहिलो पटक बनेको छ । आम नगरवासीलाई झट्ट सुन्दा अपत्तयारिलो लाग्ने यो विषय छैठौं सभाका दौरान भने यथार्थ बनेको छ ।

बजेट सिलिङ र आपसी खिचातानी, दलीय अड्चन र स्वार्थपरक राजनीतिबाट माथि उक्सन नसकेको इनरुवाको यस अघिका नगर सभा यस पटक भने सोचे भन्दा फरक, भिन्न अनि सहज र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।सभामा अनु पस्थिति रहने, नोट अफ डिसेन्ट जनाउने जस्ता घटनाक्रम आज भेटिएनन् । राजनैतिक र आन्तरिक अन्य कुनै कारण सभा रोक्ने वा मिति सार्नु पर्ने अवस्था छैठौं नगर सभाका दौरान देखा परेन् ।

चिटिक्क पारिएको सभा हल । अनि एसीको चिसोले उखरमाउलो गर्मीमा ओभाएका पसिना । नगर प्रमुखको मुहारमा त्यसैपनि यस अघिका वर्ष नगर सभाका दौरान देखा पर्ने छटपटाहट र तनाव झल्किएन् । उपप्रमुखमा समेत हतासपना देखा परेन् । उनी निकै दङ्ग देखिन्थिन् ।

हुन पनि किन नहोस । उप प्रमुखले अधिकारका रुपमा उठाउँदै आएका यस अघिका आवाज छैठौं नगर सभामा स्थापित बन्न पुग्यो । उनले बजेट नीति तथा कार्यक्रम सभामा पेश गर्ने मौका पाइन् । थोरै घबराहटका बाबजुत उप प्रमुख आफुले पाएको जिम्मेबारी वहन गर्न पाउदा प्रफुल्लित देखिएकी थिइन् ।

अघिल्ला पटक झैझमेला मिलाउने र असजह देखिएको परिस्थिति अनुकुल बनाउने प्रमुख भुमिकामा देखिएकाहरु यस पटक भने मौन देखिए । जसलाई धेरै मध्ये कमै मात्रले अड्कल काटेको देखिन्थ्यो ।धेरैको बुझाईमा छैठौं नगर सभाको तयारीकै क्रममा चालिएका कतिपय छनौट र प्रकृया दुरगामी देखिए । सहमति र सहकार्यका साथ अघि बढ्ने तर्फ सबैको प्रयासमा अवरोधहरु स्वतः हटेर गए । हुनत् यस पटक नगर सभामा समन्वयकारी भुमिका निर्वाह गर्ने जिम्मेबारीमा रहेका व्यक्तिनै फरक थिए । यद्यपी भित्री पाटाहरु केलाउने र शंका उब्जाउनेहरुको समेत कमी थिएन् । देखिएको वास्तविकतालाई आत्मसाथ गर्नु बाहेक उनीहरुकालागि विकल्प थिएन् पनि ।

बजेट भित्रको भित्री पाटो जे जस्तो भएपनि नगर सभामा देखिएको सहकार्यको भावले नगरमा एकताको सन्देश प्रवाह गराएको छ । जसलाई नगरावसीले सकारात्मक भनेका छन् । सहमति र सहकार्य साथ अघि बढ्ने सोचले जिवन्तता पाउने वा नपाउने भन्ने विषय आगामी दिनले निक्र्योल गर्ने उनीहरु बताउँछन् ।

छैठौं नगर सभामा उप प्रमुख जमुना गौतम पोखरेलले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सहितको बजेट पेश गरिन् । उनले ९९ करोड ३५ लाख ६ हजार १ सय १० रुपैंया अनुमानित रकम विनियोजन सहितको बजेट बारे जानकारी सभामा गराइन् । उनले भनिन्, इनरुवा नगरपालिकाले पूर्वाधार बिकासमा जोड दिंदै बजेट छुट्याएको छ ।त्यसका अलावा नगरको समग्र विकास लक्षित योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको पोखरेलले बताइन् । महिला लक्षित मात्रै नभएर आफुले चाहेका र रोजेका योजनाहरु बजेटमा समेटिएकाले समेत छैठौं नगर सभालाई उनले सार्थक र सहभागितामुलक रहेको बताइन् ।नगर सभाको उद्घाटन सत्र सकिए पनि छनौट भएका योजना, बजेट सिलिङ लगायतका विषयमा भने केही दिन अध्ययन समय छुट्याइएको छ । त्यस पश्चात बजेट शिर्षक तथा विस्तृत योजनाहरु सार्वजनिक गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस अघिका वर्षमा सहज वातावरण बन्न नसक्दा नगरसभा पटक पटक प्रभावित बन्ने गरेको थियो । छैठौं सभा भने सौहार्दपूर्ण वातावरणमा विना अवरोध हुनुलाई धेरैले सुखद भनेका छन् । आपसी तिक्तता भुलेर सहकार्यका साथ सिङगो नगरपालिका अघि बढ्नु आवश्यक रहेको धेरैको भनाई छ ।

प्रदेश सांसद ज्योति सुब्बाको प्रमुख आतिथ्यमा समपन्न नगर सभामा बोल्ने वक्ताहरुले सहकार्य र सहमतिको वातावरण सृजना भएको भन्दै नगरको बिकासमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरेका छन् । उनीहरुले नगरले छुट्याएको बजेटको उचित कार्यान्वयन हुन सके इनरुवाको बिकासमा कायापलटको सम्भावना औल्याए ।सभामा बोल्दै नगर प्रमुख राजन मेहताले सबैबाट प्राप्त साथ र सहयोग नगर बिकास र समृद्धिका लागि उदाहरणीय बन्ने दाबी गरे । उनले सबै वडामा बिकासको लहर चल्नेमा आफु ढुक्क रहेको बताए । वडाले प्राप्त गर्ने बजेटले त्यस भेगको दिर्घगामी बिकासमा कोशेढुङगा सावित हुने मेहताको बुझाई छ । उनले नयाँ खाका र योजना साथ तयार पारिएको बजेट नीति तथा कार्यक्रम समग्र नगरकालागि मात्रै नभएर जिल्लाकै लागि नमूना बन्ने समेत विश्वास व्यक्त गरे ।नगरपालिकाको कार्यालयका अनुसार १० वटा वडा रहेको नगरका प्रत्येक वडाकालागि २ करोडका दरले रकम बिनियोजन गरिएको छ । त्यसका अलावा बिकास निर्माणको आवश्यक्ता हेरी नगरबाटै उपलब्ध गराउने गरी थप १ करोड रकम उपलब्ध गराइने छ । अन्य योजना तथा बजेटका विषय सार्वजनिकीकरणका क्रममा बाहिर ल्याइने उसले जनाएको छ ।








तपाईको प्रतिक्रिया